गाईपालनबाट मासिक डेढ लाख आम्दानी, मेसिनबाट दुध दुहुँदै

हेटौंडा / तीन वडा डाँडाको बिचमा थोरै समथर बस्ती । वरीपरी सानो गाउँ । गाउँकै बिचमा लामो पर्खाल लगाइएको गेट भित्रको गाई फाम । एल आकारको गाई फममा लस्करै बाधिएका गाई । ठुला होलीष्टेन जातका राता, काला, छिरबिरे रङका गाई । गोठ भित्र पस्दा न हिलो नत फोहोरको दुर्गन्ध । लस्करै गोठमा बाधिएका गाई दुहुनका लागि प्रयोग गरिएको मेसिन ।
मकवानपुर गढी गाउँपालिका वडानम्बर–५ सोलीथुमका गितानाथ हुमागाईको गाई फाममा पुगेपछी यस्तै देखिन्छ । गाई फाममा पुग्दा मेहनती हुमागाई मेसिनबाट गाईको दुध दुहुदै हुनुहुन्थ्यो । फाममा पालिएका २१ वटा गाई हातले दुहुने हो भने एक जनालाई तीन घण्टा भन्दा बढी समय लाग्छ । तर दुध दुहुने मेसिन ल्याएपछी अहिले आधा घण्टामा मेसिनका माध्यमले दुध दोही सकिने गरेको छ ।
२०६८ साल देखि ब्याबसायीक रुपमा गाई पालन गर्दै आउनुभएका गितानाथले अहिले आफ्नो फाममा २१ वठा गाईपालन गर्नुभएको छ । ती मध्या अहिले १० वटा गाई दुहुना छन् । अरु गाई ब्याउने छन् । १० वटा गाईको दुध मात्र उहाँले दैनिक एक सय १० लिटर बिक्री गर्दै आउनुभएको छ । पालेका गाई मध्यमा एउटा गाईले दैनिक २४ लिटर सम्म दुध दिन्छन् । दुध बिक्रीबाट मात्र मासिक एक लाख ५० हजार रुपैयाँ कमाई हुने गरेको हुमागाई बताउनुहुन्छ । पहिले हातका माध्यमले गाई दुहुने गरेको भएपनि पनि अहिले गाईपालनमा प्रबिधिको प्रयोग गर्न थाल्नु भएका हुमागाईले एक लाख ८० हजार रुपैयाँ लागतमा मिल्क एण्ड मेसिन खरिद गरेपछी गाई दुनका लागि सजिलो भएको उहाँ बताउनुहुन्छ । बिगत डेढ बर्षदेखि मेसिनमा माध्यमले दुध दुहुन थालेपछी सजिलो भएको उहाँ बताउनुहुन्छ ।
कृर्षि बिकाश बैक हेटौंडाबाट १२ प्रतिशत दरमा २५ लाख रुपैयाँ ऋण लिएर ब्याबसायीक गाई पालन सुरु गरिएको बताउँदै उहाँ भन्नुहुन्छ –पहिले एक दुईवटा गाई पालन गर्दा घरखर्च र निर्बाहका लागि मात्र पालन गरियो । तर अहिले ब्याबसायीक रुमा गाईपालन गरेपछी छोराछोरी पढाउन पनि सजिलो भएको छ । केही आम्दानी गरेर बचत समेत गरेको छु । ब्याबसायीक रुपमा गाई पालन गरेको सात बर्ष बित्दा पनि यस क्षेत्रबाट पाउने अनुदान रकम भने उहाँलाई हात पार्न गारो भएको छ ।
ठुलो रकम ठुलै टाठा बाठाहरुले हात पार्ने र सानो थोरै रकम मात्र अहिले सम्म दुईपटक अनुदानका रुपमा प्राप्त गरेको उहाँको स्मरण छ । पशुबिभागबाट एक लाख ५० हजार र जिल्ला पशुसेवा कार्यालय मकवानपुरबाट एक लाख ५० हजार गरी ३ लाख मात्र अनुदान पाएको उहाँ बताउनुहुन्छ । गाईपालनमा उहाँका श्रीमती दिलकुमारी हुमागाईले सघाउने भन्दा बाहेक कर्मचारी पनि राख्नुपरेको छैन । भएका बारीमा सबै घाँस खेति गरेपछी चामल किनेर खानुपरेपनि घाँस खेतिबाट सजिलो भएको उहाँ बताउनुहुन्छ । अहिले दुधको रकम थोरै र दाना, चोकरको मुल्य निकै महगो भएका कारण समस्यामा परेको उहाँको गुनासो छ ।