हेटौंडा गोल्डकपमा फरक दृश्य ‘क्लिन फरेस्ट्री’

हेटौंडा । ‘स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप’को तेस्रो संस्करण चलिरहँदा हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा रौनक छाएको छ ।
कारोना कहरपछि देखिएको खेलकुदको माहौलले हेटौंडाका मात्रै नभई देशकै खेलप्रेमीलाई मोहित पारेको छ । खेल हेर्न दैनिक हजारौं दर्शक आउने गरेका छन् ।
प्रतियोगितामा खेलकुदबाहेक अर्को आकर्षण पनि छ र त्यो हो ‘क्लिन फरेस्ट्री’ । वनविज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीले क्याम्पस हातालाई सुन्दर बनाउन माघ २८ गतेबाट ‘क्लिन फरेस्ट्री’ अभियान सुरु गरेको अभियन्ता सुजन खतिवडा क्षेत्री बताउँछन् ।
अभियान चरिरहँदा वनविज्ञान अध्ययन संस्थानको मैदानमा राष्ट्रिय स्तरको प्रतियोगिता भयो ।
करिब ८ सय विद्यार्थी अध्ययनरत वनविज्ञान क्याम्पसमा भइरहेको प्रतियोगिताका कारण विद्यार्थीलाई समस्या हुने भएकाले उनीहरूले क्याम्पस प्रशासनलाई गुनासो गरे तर गुनासो सुनुवाई नभएपछि प्रतियोगिताबाट निस्कने फोहोरले दुर्गन्ध नफैलियोस् भनेर खतिवडाको नेतृत्वमा दैनिक सरसफाइ भइरहेको छ । आफ्नो क्याम्पसको चौरमा ठूला प्रतियोगिता हुँदा आफूलाई समस्या पर्ने गुनासो गरेका विद्यार्थी नै अहिले दैनिक खेल हेर्न आउने दर्शक तथा आयोजकले गरेका फोहोर टिपी रहेका छन् ।
उनीहरू कसैले बोतल तथा खानाका खोल फालेमा तुरुन्त उठाउन पुग्छन् । कसैले फोहोर नगरे त सफा गर्नै पर्दैन थियो, क्याम्पसमा हामीले फोहोर नगर्ने अभियान सुरु गरेका थियौं यो बीचमा प्रतियोगिता भयो र हामीले स्वयंसेवी भूमिका निर्वाह गर्दैछौं, कहिले बलब्वाईको काम पनि गरेका छौं, कहिले सरसफाइ । हामीलाई आयोजकले पनि सकारात्मक उत्साह दिएका छन्, यसमा खुसी छौं’, खतिवडाले भने । सरसफाइमा जुटेर फोहोर नगर्न जनचेतना जगाउन खोजेको अभियन्ता खतिवडा बताउँछन् । उनी जस्तै क्याम्पसमा अध्ययनरत ३६ जना विद्यार्थीले अहिले प्रतियोगितामा स्वयंसेवी भूमिका निर्वाह गरिरहेका छन् ।
विद्यार्थीले चौर सफा र बलब्वाईको मात्र नभएर क्याम्पसकै युथ रेडक्रस सोसाइटीमा आबद्ध विद्यार्थीहरू मैदानमा खेलाडी घाइते हुँदा स्ट्रेचर बोकेर कुदिहाल्छन् । क्याम्पस शिक्षाको मन्दिर भएकाले जस्तो सुकै प्रतियोगिता भए तापनि लागुऔषध, मदिराजन्य, सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको छ, यदि कसैले बिक्री–वितरण गरेको पाइएमा जफत गर्ने अभियन्ता खतिवडाले बताए ।
९७ हेक्टरमा फैलिएको क्याम्पस हाताभित्र विभिन्न आपराधिक गतिविधिदेखि जंगली जनावरको सिकारसम्म हुन्छ । तर त्यसतर्फ हेटौंडाबासीले ध्यान नदिँदा फरेस्ट्री विद्यार्थी चिन्तित छन् । २५ मिटर सडक विस्तारको नाममा क्याम्पसको कम्पाउन्ड वाल भत्काउँदा फरेस्ट्री क्याम्पसका विद्यार्थी र उक्त हाताभित्र रहेका दुर्लभ जंगली जनावरले असुरक्षाको महसुस गरे पनि प्रशासनबाट कुनै पनि कदम नचालिएको उनीहरूको गुनासो छ । विद्यार्थीले फरेस्ट्री क्याम्पसको चौरसँग सिमाना भएका विभिन्न टोलमा गएर फोहोर नफाल्न अनुरोध समेत गरेका छन् ।
क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थी मकवानपुर जिल्ला बाहिरका छन् । उनीहरूले फरेस्ट्री हातालाई कसरी सुन्दर र सुरक्षित बनाउने भन्ने अभियान थालनी गरे पनि हेटौंडावासीबाट भने खासै सहयोग नपाएको उनीहरूको गुनासो छ । फरकधारका लागि अमृत चिमरियाले लेखेको समाचार हामिले साभार गरेका हौं ।