मकवानपुरमा दुईवटा गाडीमा आगजनी, दुई स्थानमा प्रेसरकुकर बम

हेटौंडा / विप्लव नेतृत्वको नेकपाले आजको नेपाल बन्दलाई सफल बनाउन भन्दै मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरेको छ । यता दुइ स्थानमा प्रेसरकुकर बम राखेको छ । आजका लागि नेपाल बन्द भएपनि गएरातीनै मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङ तर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँच जनाको समुहले पेट्रोल छकिएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रबक्ता सागर बिक्रम राणाले जानकारी दिनुभयो ।
यसैगरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छकिएर आगजनी गरेको उहाँले बताउनुभयो । तीन जनाको समुहले आगजनी गरेर फरार रहेको प्रहरीको भनाई छ । आगलागीबाट दुईवटै गाडी पुर्ण रुपमा क्षेति भएका छन् ।
यसैगरी बिप्लबले गरेको बन्दका क्रममा हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ वडा कार्यलय अघि प्रेसरकुकर बम राखिएको छ । त्यसैगरी हेटौंडाको लेवट र बस्तीपुरको बिचमा पनि प्रेसरकुकर बम राखिएको प्रहरीले जनाएको छ । दुबै स्थानमा राखिएको प्रेसरकुकर बम होकी होईन भन्ने कुरा नेपाली सेनाको बम डिस्पोजल टोलीले मात्र भन्न सक्ने प्रहरी उपरिक्षक सिङले बताउनुभयो । गाडीमा आगजनी गर्ने र प्रेशरकुकर बम राखिएको स्थानका नागरिक भने त्रसित भएका छन् ।