चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोष अभियानको शुभारम्भ

जनपत्र
४ चैत्र २०७७, बुधबार ०६:०८

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गर्नु भएको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले उक्त अभियानको शुभारम्भ गर्नु भएको हो ।

संघले २० लाख रुपैयाँ बराबरको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । उहाँ समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षलाई सम्मानपत्रद्वारा सम्मान गर्नु भयो । सम्मानित हुनु हुनेमा पुर्वअध्यक्षद्वय विदुर गिरी र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दीप सापकोटा रहनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्रप्रसाद शाही, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता भुवन केसी, निर्माता तथा कलाकार दिपाश्री निरौलालगायतले साधारणसभाको सफलताको कामना गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*