पत्रकार महासंघ मकवानपुरद्वारा प्रशासनमा धर्ना

हेटौंडा /नेपाल पत्रकार महासंघ मकवानपुर साखाले आज बिहान एक घण्टा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएको छ । पत्रकार महासंघको देशभरीका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरमा पनि एक घण्टा धर्ना दिएको हो ।
बिहान ९–३० बजेदेखि १०–३० बजेसम्म प्रशासनमा धर्ना दिएकोहो । पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार आज एक घण्टा धर्ना दिएको र अब पनि पत्रकारका निम्ती आन्दोलन गर्न तयार रहेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो । समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकट गर्ने, पक्राउ गर्ने र मुद्धा चलाउने काम तत्काल बन्द गर्नका लागि अध्यक्ष हुमागाईले आग्रह गर्नु भएको छ ।
महासंघ केन्द्रको सर्कुलेसन अनुसार जिल्लाले पत्रकार पक्राउको बिरोधमा बिभीन्न चरणबद्ध आन्दोलन गर्न तयार रहेको उहाँले बताउनुभयो । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै धर्ना दिइएको अध्यक्ष हुमागाईंले बताउनुभयो ।
नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने हिजो निर्णय गरेसंगै देशैभरीका पत्रकार आन्दोलनमा उत्रिएका हुन् । पत्रकारलाई विद्युतीय कारोबार ऐन, उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो । जस अन्तर्गत विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै पत्रकारहरु आन्दोलीत भएका हुन् ।