विराटनगरमा जिपी कोइराला स्मृति टेबलटेनिस प्रतियोगिता सुरु, कोभिड-१९ बाट सचेत खेलाडी

जनपत्र
२६ फाल्गुन २०७७, बुधबार ०६:०१

उमेरले १२ वर्ष पुगिन् वेदिका यादव। घर सप्तरीको राजविराज भए पनि हाल विराटनगरको एक निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन्। करिब १० महिनाको कोभिड १९ महामारीपछि पहिलोपटक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउँदा यादव हर्षित थिइन्। वेदिका यादव जस्तै २ सय ३० जनाभन्दा बढी विद्यार्थी मंगलबारबाट सुरु भएको गिरिजाप्रसाद कोइराला स्मृति टेबलटेनिस प्रतियोगिताको पहिलो संस्करणमा भेटिँदा उत्साहित देखिए।

विराटनगरस्थित टेबलटेनिस हलभित्र कोभिड महामारीबाट अलिकति भएपनि मुक्त भएको महसुस उनीहरुको अनुहारमा देखिन्थ्यो। वेदिका भन्छिन्, ‘कोभिडका कारण धेरै साथीहरुसंग भेट्न र बाहिर निस्कन समस्या थियो। तर अहिले सुरक्षा मापदण्ड अपनाएर खेल्न पाएका छौँ।’ प्रतियोगिताभर खेलिरहँदा मास्कमा भेटिएकी उनले कोरोनाको डरले मास्क नखोलेको बताईन्। विद्यालयकै होस्टलमा बस्दै आएकी वेदिका गएको २ वर्षदेखि टेबलटेनिसमा रमाउँदै आएकी हुन्।

उनी भन्छिन, ‘घरमा बुवा सरकारी कार्यालयमा कार्यरत भएपनि दिदीले टेबलटेनिस खेल्दै गर्दा यसप्रति झुकाव बढेको हो। अब त मलाई यो खेल रमाईलो लाग्छ।’ यादवसंगै प्रतिस्पर्धामा उत्रिएकी ११ वर्षीया हनि श्रेष्ठ पनि सुरक्षात्मक विधी अपनाएर खेलकुद सुचारु गरिनुपर्ने बताउँछिन्। विराटनगरकै अरनिको विद्यालयमा कक्षा ५ मा अध्ययनरत श्रेष्ठ कोभिडपछि प्रतियोगिता हुनुलाई सुखद भएको प्रस्टाउँछिन्। तीनदिन सम्म चल्ने अन्तर विद्यालयस्तरीय प्रतियोगितामा ६ वटा इभेन्टमा स्पर्धा हुने आयोजक मोरङ जिल्ला नेपाली कांग्रेस खेलकुद शाखाका संयोजक एवं प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले बताए।

कोभिड महामारीका कारण टेबलटेनिस प्रतियोगिता सुरु हुन नसकिरहेको अवस्थामा आफूहरुले सुरुआत गरेको बताएका संयोजक राईले बालबालिकालाई कोभिड १८ महामारीपछि सामान्य अवस्थामा फर्काउन समेत खेलकुदले अहम भूमिका खेल्ने उल्लेख गरे। प्रतियोगितामा २४ वटा विद्यालयका २ सय ३० बढि विद्यार्थीले सहभागिता जनाएकाछन्। प्रतियोगितामा कक्षा ७ बाट सब जुनियर ब्वाईज र गल्र्स सिङ्गलबीच स्पर्धा हुनेछ। कक्षा ८ देखि १० सम्ममा जुनियर ब्वाईज र गल्र्स सिंङ्गलको स्पर्धा हुनेछ। त्यसैगरी, कक्षा ११ र १२ बाट ब्वाइज र गर्ल्स सिंङगलका लागि स्पर्धा हुने आयोजक पक्षले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*