‘कम्युनिस्टहरू विद्रोह मात्रै गर्दैनन्, शान्तिका दूत पनि बन्छन्’

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार ०६:२३

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमति पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको हो । आफ्नो पार्टीले सहमति पालन गर्ने भन्दै उहाँले कसैले पनि आशङ्का गर्न आवश्यक नरहेको बताउनुभयो ।

कम्युनिस्टहरू आफ्नो मान्यता देशमाथि हस्तक्षेप भएको महसुस हुँदा विद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू शान्तिको दूत बन्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी कम्युनिस्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्ना मान्यताहरूमाथि हमला भएको महसुस हुन्छ, आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभूति हुन्छ, उनीहरू विद्रोह गर्छन् । हामी कम्युनिस्टहरू हाम्रा मान्यताहरूमाथि हमला हुँदाखेरि, हाम्रा आकाङ्क्षामाथि हमला हुदाँखेरि, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिद्दे दृष्टि लाउँदा हामी विद्रोह गर्छौँ । हामी विद्रोह गर्ने मान्छेहरू हौँ र विद्रोह गर्दै अहिलेसम्म आएका छौँ । तर कम्युनिस्टहरू विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइन, शान्तिका दूत पनि संसारमा कोही छन् भने कम्युनिस्टहरू नै छन् । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालीन ढङ्गले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकाङ्क्षा कहीँ छ भने त्यो कम्युनिस्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकाङ्क्षासहित हामीले सङ्घर्ष गरेका छौँ र आजको परिवेश बदलिएपछि हामीले भनेका छौँ, तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध छ । यसलाई हामी पालना गर्छौँ । यसलाई हामी दृढतापूर्वक भन्छौ यहाँ कसैले पनि, कहीँबाट पनि आशङ्का या विभिन्न ढङ्गले यसलाई उत्तेजनात्मक या अर्को ढङ्गले कुतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौँ ।’

महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपनासहित सहमति भएको दाबी गर्नुभयो । देशमा शान्ति, स्थिरता र समृद्धिको आकाङ्क्षासहित सहमति गरिएको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन, यो सहमति केवल पार्टीको कुरा मात्रै होइन र केही नेताहरूको कुरा होइन । यो सहमतिको पछाडि हाम्रो त्योभित्र लुकेको एउटा महान् आकाङ्क्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ । योभित्र देशमा दीर्घ शान्ति, स्थिरता, र नेपाली नागरिकको अहिलेसम्म पूरा नभएको समृद्धिको आकाङ्क्षा, नेपालको युवाभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहाना योभित्र रहेको छ । त्यसैले यसलाई पूरा गर्नका लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्‍यौँ हामी खुसी छौँ र हामी धन्यवाद दिन चाहान्छौँ ।’

महासचिव विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताउनुभयो । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उहाँले नागरिकले स्वतन्त्रतापूर्वक कदम चाल्नका लागि नागरिकलाई जनमतको अधिकार दिनुपर्ने उहाँले बताउनुभयो । नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरूले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभूति नगरेको भन्दै महासचिव विप्लवले नागरिकलाई मतको अधिकार दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी अहिलेको सरकारसँगको कुरा होइन, यो हामी होल नेपालको एउटा राजनीतिक रूपान्तरणको प्रक्रियामा जे जति छलफल र बहसहरू भए त्योमा हामी सहमत हुन सकेनौँ, भएनौँ र हामीले आफ्नो तर्फबाट एउटा विद्रोह गर्‍यौँ । हामी अगाडी बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेतालाई, सबै पार्टीलाई, सबै नागरिकलाई आफ्नो जीवनमाथि आफै हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइराखेको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरङ्ग नेपाली नागरिकको बीचमा छ, अहिले पनि छ, सायद तपाईँहरू सबैले बुझिसक्नुभाछ, झुपडीमा पनि त्यो छ । महलमा पनि छ । सहरमा पनि छ । गाउँमा पनि छ । नयाँ प्रयोग नेपाली इतिहासमा आवश्यक बन्न गएको छ । हामीले भनेका छौँ, जनमत । छलफल हुने पनि गरेको छ जनमत सार्वभौम शक्ति सम्पन्न नागरिकलाई एकचोटि नयाँ फैसला गर्ने वातावरण बनाउनु जरुरी छ । के चाहान्छन् नागरिकले रु के तपाईँको यो दलाल पुजीँवादीहरूको चक्रमा सधैँ घुम्नुपर्ने हाम्रो नियति हो रु के नेपाली नागरिकले कहिल्यै पनि स्वतन्त्रतापूर्वक स्टेप चाल्न नपाउने रु कहिलेकाहीँ राज्यले–सरकारले चाल्न खोज्दाखेरि पनि नहुने परिस्थिति त बन्यो नि त । यो त हामीले छ्याङ्गै देखेको छौँ नि । नागरिकले सोच्ने कुरै छैन, सोच्न पाउने ठाउँ नै छैन । कसैले पनि नेपालको बारेमा नजिकबाट अपनत्व ठानेर निर्णय गर्छु भन्दाखेरि नपाउने स्थिति बनेको छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली नागरिकलालाई एकचोटि त्यो अधिकार प्रयोग गर्न दिनुपर्छ, हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता, दल सबैलाई हामीले चुन्यौँ । आवश्यक पर्दाखेरि प्रत्यक्ष ढङ्गले नेपालको भविष्यको बारेमा जनमत दिने फैसला दिने अधिकार नागरिकले पाउनुपर्छ । हामी हृदयपूर्वक सबैलाई आग्रह गर्न चाहान्छौँ, हामी तयार छौँ । युद्धको अन्त्य कसैले गर्छ यो विश्वमा भने कम्युनिस्टले मात्रै गर्छ । कम्युनिस्ट जुन दिन विजय हुन्छ, संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । हाम्रो त्यो विश्वास छ ।’

उहाँले सहिदले देखेको परिवर्तनको सपना पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँगको सहमतिपछि आफ्ना नेता–कार्यकर्ता जेलबाट छुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहिद परिवारलाई विश्वास दिलाउँ कि हामी जे सपना देखेर यो कम्युनिस्ट आन्दोलनमा लाग्यौँ हाम्रो जीवन बलिदान गर्छौँ तर सहिदको सपना मर्न दिदैँनौँ । हाम्रो एउटा त्यो प्रतिबद्धता छ । बेपत्ता योद्धाहरूको कुरा गर्नुस् । हाम्रा घाइतेहरूका कुरा गर्नुस् । या नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपाङ्ग भएर बसिराख्नुभएका हाम्रा योद्धाहरूको कुरा गर्नुस्, हामी सबैलाई यतिबेला सम्झिनुपर्छ र सम्मान गर्नुपर्छ । हामीले उनीहरूको चाहनालाई पूरा गर्ने एउटा प्रतिबद्धता गर्नुपर्छ । अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि आउनुभएको छ । कमरेड कञ्चन यहाँ आइपुग्नुभएको छ छुटेर र उहाँलाई म यहाँबाट स्वागत गर्न पनि चाहन्छु र हाम्रा धेरै साथीहरू अब सायद छुट्नु हुनेछ र हामी एउटा मुक्त आकाशमा फेरि मिलन हुनेछौँ । हाम्रो विश्वास छ यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।’

महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिए पनि सम्झौता नहुने प्रतिबद्धता उहाँको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दुई वर्षभन्दा बढी समयपछि शुक्रवार काठमाण्डौमा सार्वजनिक हुनुभएको हो ।

तस्बिर : रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*