रैथानेद्वारा सरकार–विप्लव सहमतिको स्वागत

रैथाने एकता परिषद्ले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको स्वागत गरेको छ। रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले बिहीवार विज्ञप्ति जारी गरी सरकार–विप्लव सहमतिको स्वागत गरेका हुन्।
संयोजक बराइलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘क्रान्ति बन्दूकको नालबाट आउँछ भन्ने पुरातनवादी सोचले कुनै पनि देशको विकास भएको छैन । झन् देश विनाशतर्फ अग्रसर भएका कैयौँ उदाहरण हाम्रासामु घामजस्तै छर्लङ्ग छ। यो तथ्य बुझेर विप्लव नेतृत्वको नेकपा पुनः शान्तिपूर्ण राजनीतिमा फर्किनु स्वागतयोग्य पहल हो ।’
वार्तालाई परिणाममुखी बनाउन दुवै पक्षलाई संवेदनशील बन्न आग्रह गर्दै रैथानेले राष्ट्रिय स्वाभिमानका लागि सबै राजनीतिक दलहरुलाई एकजुट हुन आह्वान समेत गरेको छ ।