ओली कि दाहाल-नेपाल समूह : काँग्रेस अझै अलमलमा

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०६:५०

विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटसमेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।

संसद् पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन । सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । उनले प्रचण्ड—नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । तर, सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

आजको राजधानी दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*