भीमदत्तका मेयरको कित्ता परिवर्तन, खुले ओली पक्षमा
कञ्चननपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट केपी ओली नेतृत्वको नेकपामा खुलेका छन् । प्रचण्ड–माधव पक्ष निकट मानिएका मेयर विष्टले केही दिन अघि काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि कित्ता परिवर्तन गरेका हुन् ।
विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिव चयन भएका छन् । उनलाई शनिवारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णवहादुर थापाले सचिव पदको सपथ खुवाएका छन् ।
पूर्व माओवादीबाट जिल्ला अध्यक्ष रहेका वीर बहादुर थापा ओली पक्षमा लागिसकेका छन् । रिक्त सचिव पदमा मेयर विष्टलाई चयन गरिएको नेकपा ओली पक्षले जनाएको छ । विष्ट तत्कालिन एमालेको राजनीतिमा माधव नेपाल निकट मानिन्थे । विष्ट जिल्लाका प्रभावशाली नेता मानिन्छन् ।