रियल मड्रिडको संघर्षपूर्ण जित, दवाबमा लिग लिडर एट्लेटिको

जनपत्र
९ फाल्गुन २०७७, आईतवार ०७:०३

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकाल्यो। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि १-० को कठिन जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा कासेमिरोको गोलमा मड्रिडले अग्रता बनाएको थियो। टोनी क्रुसको पासमा खेलमा ६५ औं मिनेटमा कासेमिरोकोले गरेको गोल नै मड्रिडको जितमा निर्णायक बन्यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिग लिडर एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भयो। खेलको ३० औं मिनेटमा घरेलु टोली एट्लेटिकोका मारिओ हर्मोसोको आत्मघाति गोलमा लेभान्टेले अग्रता बनायो। पहिलो हाफमा एक गोलले अघि रहेको लेभान्टेलाई दोस्रो हाफमा पनि एट्लेटिकोले गोल फर्काउन सकेन। खेलको अतिरिक्त समयमा लेभान्टेका जोर्ज डी फुटोसले गोल थप्दा लेभान्टेले एट्लेटिकोमाथि जित २-० गोलअन्तरले जित निकाल्यो।

गएराति खेलमा आफ्नो जित र एट्लेटिकोको पराजयले रियल मड्रिडलाई दोहोरो फाइदा भएको छ। शीर्षस्थानको एट्लेटिकोको २३ खेलबाट ५५ अंक छ। त्यस्तै दोस्रो स्थानमा रहको रियलको २४ खेलबाट ५२ अंक छ। लिगमा शीर्षस्थानको अंकदुरी फराकिलो बनाउँदै आएको एट्लेटिकोलाई अब भने शीर्ष स्थान जोगाउने दवाब हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*