चौदण्डीगढीको पोस्टमा पुलिसको १० गोल
चौदण्डीगढीको पोस्टमा नेपाल प्रहरीको टोलीले १० गोल ठोक्यो । ती १० गोलमा निरू थापा एक्लैले चार गोल गरिन् । चौदण्डगढीको यो १२ औं खेल हो, कुनै पनि खेल जित्न नसकेपछि लिग अंक तालिकामा उसको शुन्य रह्यो । चौदण्डीगढी राष्ट्रिय लिग खेल्न योग्य टोली सावित हुन सकेन । लिग अवधिभरि नै उसको प्रदर्शन उदेग लाग्दो रह्यो । एकै खेलमा २२ गोलसम्म खाएको चौदण्डीगढीले लिगको अन्तिम खेलमा नेपाल प्रहरीसँग १०–० को अर्को नमीठो पराजय व्यहोरेर घर फर्कदैछ ।
२९ मिनेटभित्रै चौदण्डीगढी ४–० ले पछि पर्यो । दुई पेनाल्टीसहित निरू थापाले तेस्रो, छैठौ, ११ औं र २९ औं मिनेटमा चार गोल ठोकिन । ३० औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल उपहार दिइन। गोलको वर्षात जारी रहदा निर्मला बिकले दुई गोल थप्दा पहिलो हाफमा नेपाल प्रहरीके ७–० को अग्रता बनायो ।
यसपछि ६१ औं मिनेटमा सुनकला राईले गोल गरिन् भने ८६ औं मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गरिन् । इन्जुरी समयमा अमृता जैसीले अर्को एक गोल गर्दा नेपाल प्रहरीले १०–० को सानदार जित निकाल्यो । यो नेपाल प्रहरीको पाँचौं जित हो र १८ अंक सहित तेस्रो स्थानमा लिग पुरा गर्यो । चौदण्डीगढीले भने १२ खेलमा १२ मै हार व्यहोर्यो र बिना अंक पुछारमा रहदै लिग साकायो। चौदण्डीगढीले १२ खेलमा मात्र चार गोल गर्यो भने १०७ गोल खायो ।






