डलरको लोभमा सचिन परियारहरुसँग ‘इमोसनल ब्ल्याकमेलिङ’

उमेर ९ वर्ष। निर्दोष स्वभाव। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ।
रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए। सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए।
त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए। बालगायिका आयुषा गौतमसँग गाएको गीतले सचिनलाई भाइरल बनाउन थप मद्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो। उनले ‘ओठ खोलेर’देखि ‘रातो रबर’सम्मका लोक गीतमा आफ्नो निर्दोष आवाज मिसाए।
पछिल्लो समय सार्वजनिक भएका गीत तथा म्युजिक भिडियो सचिनका कारण सर्च हुन थालेपछि सचिनलाई लिएर म्युजिक भिडियो बनाउनेको लर्को नै लाग्यो। चलेका कलाकार उनीसँग म्युजिक भिडियोमा कम्मर मर्काउन राजी भए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडियोहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन थाले। सचिनले अघिल्लो वर्ष युट्युबबाटै भाइरल भएकी मुना मगरदेखि राजेश हमालसम्मसँग म्युजिक भिडियोमा नाच्ने अवसर पाए।
जनमानसमा राजेश हमालको राम्रै क्रेज देखिए पनि युट्युबमा भने उनी खासै ‘बिक्ने’ कलाकारमा पर्दैनन्। सचिन भएकै कारण हमालले पनि यसपटक युट्युबमा रामै्र दर्शक कमाए। म्युजिक भिडियोको सुटिङदेखि नै सचिन र राजेश हमाललाई जोडेर विभिन्नखाले प्रचार गरियो। सचिनले म्युजिक भिडियो छायांकनका क्रममा हमालको ‘हे’ संवाद हात फालेर बोले। उनको यही शैलीलाई प्रचारको राम्रो खुराक बनाइयो। सचिनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’का दुई भागमा पनि अभिनय गरे। अहिले सचिन युट्युब ट्रेन्डिङका गायक तथा मोडल भएका छन्। युट्युब सचिनको कब्जामा छ।
भाइरल भएर चर्चामा आएका बालकलाकार सचिन परियार पहिलो होइनन्। उनीभन्दा अघि पनि थुप्रै बालबालिका सामाजिक सञ्जालमा भाइरल भएका छन्। अशोक दर्जी, कमला घिमिरे, आयुषा गौतम, वसन्त लामालगायत बालबालिका विभिन्न युट्युबमार्फत ग्रामीण स्तरबाट आएका बालबालिका हुन्। उनीहरुले पनि विभिन्न समयमा आज सचिनले झैँ युट्युब कब्जा गरेका थिए। सचिनले झैँ थुप्रै अनुहारले भाइरल हुनु र क्षणिक चर्चाको स्वाद चाखिसकेका छन्। यसरी चर्चामा आएका कतिपय कलाकार अहिले कहाँ के गर्दै छन् धेरैलाई थाहा छैन। बालबालिका मात्रै होइन, यसरी आएका र केही समयमा हराएका परिपक्व कलाकारको लिस्ट पनि लामै छ।
अनि सुरु भयो विवाद
भाइरल प्रतिभालाई जथाभावी प्रयोग गर्दा कला क्षेत्र फोहोरी भएको भन्दै मोडल विमल अधिकारीले दुखेसो पोखे। विमलले एक अन्तर्वार्ताका क्रममा भाइरल हुनासाथ स्टुडियोमा सबैलाई लैजाँदा स्टुडियो ‘बाख्राको खोर’सरह भएको अभिव्यक्ति दिएका थिए। प्रतिभा भएका मानिसलाई पनि शिक्षा दिएर, गीत–संगीतबारे ज्ञान दिएर मात्रै प्रयोग गर्नुपर्ने उनको धारणा थियो। विमलले भनेका थिए, ‘साँच्चै प्रतिभा भएको मानिसलाई राम्रो शिक्षा दिऊँ। हैन भाइरल भएका मानिसमा कुनै पनि प्रकारको अभाव दुःख छ भने सबै मिलेर सहयोग गरौँ। म पनि व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु।’
उनले भाइरलको प्रयोगले गर्दा वर्षौंदेखि साधना गर्दै आएका गायक–गायिकाको हत्या भएको समेत बताएका थिए। यही क्रममा पटक–पटक सचिनको नाम प्रस्तोताले दोहोर्याएका थिए। यही अन्तर्वार्ता सार्वजनिक भएसँगै सुरु भएको विवादले भाइरल हुँदै जातीयतासम्म पुगेर ठोकियो। सामाजिक सञ्जालमा विमललाई निकै तल्लो स्तरका गाली आउने क्रम रोकिएको छैन।
तर, कोही व्यक्ति–विशेषलाई लिएर एक–अर्काको हुर्मत लिन नहुने गीतकार लोकराज अधिकारी बताउँछन्। विभिन्न कारणले पछिल्लो समय गीत–संगीतको क्षेत्र बिग्रँदै गएको स्वीकार गर्दै अधिकारी भाइरल कलाकारका कारण पनि केही अंश बिग्रिएको बताउँछन्। सचिनलाई लिएर पनि कसैले विवाद गर्नुको कुनै औचित्य नभएको उनको तर्क छ।
‘सचिन बाबु नेपाली संगीतका साधक पनि होइनन्, बाधक पनि होइनन्। न्यू मिडियाको प्लेट फर्मले चिनिएका इन्टरटेनर हुन्। उनीसँग केही कला वा गला छ। भोलि यही क्षेत्रमा उनको भविष्य देखिन्छ भने आज प्रयोग गर्नेहरुले उनको कला माझ्न सहयोग गरौँ,’ उनी भन्छन्, ‘सचिन महान् पनि होइनन् र खराब पनि छैनन्। उनलाई लिएर अनेक तर्क–वितर्क गरेर आपसमा बाझ्नु जरुरी छैन। सचिनलाई सदुपयोग गरौँ, दुरुपयोग नगरौँ।’
मिसलिड
नेपाल लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य दुर्गा पंगेनी लोक संगीतको क्षेत्र ‘मिसलिड’को सिकार भइरहेको बताउँछन्। ‘युट्युबबाट हुने कमाइकै कारण यस्तो भइरहेको बुझ्न गाह्रो छैन। ‘हाँस्यरस’ लोक दोहोरीको मूल मर्म हो। दोहोरीमा हास्यरस अनिवार्यजस्तै छ,’ केही युट्युब च्यानलले लोक संगीतलाई गलत बाटोतर्फ डोहोर्याएको भन्दै पंगेनीले भने, ‘अहिले दोहोरीमा कमेडी टुक्काको प्रयोग भन्दै ‘हल्लाऊ पुठा हल्लाउ’जस्तो प्रयोग र त्यही टुक्कामा सिंगै कला जगत नै लट्टु भएर पछि लागेको देख्दा भने अचम्म लाग्छ।’
उनले अगाडि भनेका छन्, ‘लामो समय नेपाली गीत–संगीतका लागि खर्चिएका कलाकारको चर्चा गर्दा, उनीहरुलाई स्पेस दिँदा डलर कमाइ हुँदैन। गीत–संगीतको जगेर्ना गर्छौं भन्नेहरु नै भाइरल कन्टेन्ट र डलरको खेतीको पछि कुदेको देख्दा झन् अचम्म लाग्छ।’ पछिल्लो समय युट्युबमा आएका दोहोरी कार्यक्रमले लोकदोहोरीलाई नयाँ उचाइमा पुर्याएको कुरा स्वीकार गर्दै पंगेनीले भनेका छन्, ‘तर, तिनै कार्यक्रमले प्रतिलिपि अधिकार र अग्रज स्रष्टाको अधिकार पनि गजबले मिचमाच पारेका छन्।’
स्थान दिने बहानामा कसैलाई प्रयोग गर्न नहुने गायक कन्हैया सिंह परियार बताउँछन्। उनी भन्छन्, ‘सचिनजस्ता कयौँ प्रतिभा हरेक बस्तीमा छन्। सबै मिडियामा आउन पाउँदैनन्। सचिन भाइले सानै उमेरमा मिडियामा जुन स्थान पाएका छन्, त्यो राम्रो हो।’ तर, यसअघि भाइरल बनाइएका अन्य कलाकारजस्तै सचिनलाई पनि युट्युबमा भ्युज जाँदासम्म सबैले हाई–हाई गर्ने, तर पछि कुनै खोज खबर नगर्ने गरियो भने त्यो नराम्रो भएको उनको भनाइ छ। परियार थप्छन्, ‘उनी त बालकै छन्। उनलाई कसले कसरी स्थान दिइरहेका छन्। विभिन्न प्लेटफर्ममा प्रयोग गरेबापत उनको भविष्यबारेमा के दिइरहेका छन्। त्यसबारे भने सबै सचेत हुन जरुरी छ।’
नबोली सिकार भइन् समीक्षा
केही समयअघि एउटा गीत सार्वजनिक भयो– ‘हावा चिसो चिसो’। यो गीतमा महिला आवाज समीक्षा अधिकारीको छ। मोडलमा विमल अधिकारी देखिएका छन्। यही गीतले युट्युबमा करोड दर्शक कमायो। त्यसपछि मोडल र गायिका एउटै सेटमा अन्तर्वार्ताका लागि पुगे। त्यही अन्तर्वार्ताले यी दुवैलाई विवादमा तान्यो। यही अन्तर्वार्ताका क्रममा हो, विमलले माथि उल्लेखित अभिव्यक्ति दिएका हुन्।
विमलले अभिव्यक्ति दिने क्रममा विमलको आडैमा रहेकी समीक्षा केही मुस्कुराएकी देखिन्छिन्। कतै खित्का छाडेर हाँसेकी पनि छिन्। तर, समीक्षाले कुनै अभिव्यक्ति दिएकी छैनन्। समीक्षाको यही हाँसोलाई लिएर उनलाई धेरैले धेरै थरी गालीगलौज गरेका छन्। समीक्षालाई पनि भाइरलको संज्ञा दिएर तल्लो स्तरको गाली गरिएको छ।
आफ्नो नाममा तल्लो स्तरका कमेन्ट आएपछि समीक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै माफी मागिन्। त्यसपछिको एउटा अन्तर्वार्तामा उनी डाँको छोडेर रोइन्। समीक्षालाई अहिले धेरै अग्रजले साथ दिइरहेका छन्। धेरैले समीक्षा भाइरल गायिका नभएर प्रतिभाशाली गायिका भएको टिप्पणी गरेका छन्।
करिअरमै असर
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत चर्चामा आएका बालबालिकालाई यसरी भाइरल गराउँदा उनीहरुको करिअरमा समस्या आउन सक्ने बालअधिकारका क्षेत्रमा काम गर्ने सरोकारवाला बताउँछन्।
डलर कमाउने लोभमा युट्युबरहरुले ‘इमोसनल ब्ल्याकमेलिङ’ गरी बालबालिकालाई प्रयोग गरेर आफ्ना कन्टेन्ट भाइरल गराइरहेको जिल्ला बाल क्लब सञ्जाल काठमाडौंकी अध्यक्ष नेहा गुरुङको भनाइ छ। केही समय चर्चामा ल्याउने र भ्युज जान छाडेपछि वास्ता गर्न छाडेका थुप्रै उदाहरण छन्। यस्तो कार्यले बालबालिकाको भविष्य नै समस्यामा पर्ने गुरुङ बताउँछिन्।
साना–साना बालबालिकालाई भाइरल गराएर कन्टेन्ट बिकाउन उमेरले नै नधान्ने प्रश्न गरिदिनाले बालबालिकामा नकारात्मक असर देखिने बालअधिकारकर्मी प्रदिप्ता कादम्बरीको भनाइ छ।
बालबालिकालाई यसरी प्रयोग हुनबाट रोक्नुपर्ने मनोविज्ञको भनाइ छ। उनीहरु भन्छन्, ‘यसरी प्रयोग भएका बालबालिकाको मनोविज्ञानमा गम्भीर खालको असर पर्छ।’ मनोविद् गोपाल ढकाल बालबालिकालाई भाइरल हुनबाट राज्यले नै रोक लगाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘बालबालिका काँचो माटो हुन्। उनीहरुलाई के कुराको असर कस्तो पर्छ भन्ने थाहा हुँदैन। तर, उनीहरुको मनोविज्ञानमा भने गम्भीर असर गरिरहेको हुन्छ। त्यसतर्फ अभिभावक तथा राज्यले ध्यान दिन जरुरी छ।’
कमजोर आर्थिक अवस्था भएका तथा अशिक्षित समुदायका बालबालिका भाइरलको सिकार भएको उनको तर्क छ। खेल्दै, पढ्दै, रमाउँदै हुर्कने उमेरका बालबालिकालाई सेलिब्रेटी बनाइदिँदा उनीहरुको भविष्य अन्योलमा पर्ने बाल अभियान्ता सोनी भट्टराई बताउँछिन्। फरकधारबाट