मेस्सी चम्कदा बार्सिलोनाको सानदार जित
कप्तान लियोनेल मेस्सी र ट्रिन्काओको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा थप एक गोल जुनियर फिर्पोको नाममा रहँदा एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता बनाएको थियो । उनले मोरिवाको पासलाई सदुपयोग गरेका थिए ।
३६औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटम मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
त्यसपछि बार्सिलोनाले ७ मिनेटको अन्तरमा ३ गोल गर्दै सहज जित निकाल्न सफल भयो । ७४औं मिनेटमा ट्रिन्काओले मेस्सीको पासलाई सदुपयोग गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५औं मिनेटमा कप्तान मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याए । ८०औं मिनेटमा जुनियर फिर्पोले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।
यो जितसँगै बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि गोल अन्तरमा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्ल्टिको म्याड्रिडको २१ खेलबाट ५४ अंक छ । पराजित एलाभेस २२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।






