भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न अख्तियारलाई प्रधानमन्त्री ओलीको आग्रह

जनपत्र
२९ माघ २०७७, बिहीबार ०७:०२

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

आयोगको ३० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा देश र नागरिकलाई शिरमा राखेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्रासबाट मुक्त भएर अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले आयोगमा सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाचार छाया नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राज्यका सबै निकायका प्रतिनिधि क्रियाशील भएमा देशको भ्रष्टाचार अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कानुनको नजरमा सबै बराबर भएकाले दोषीलाई कानुनअनुसार कडा कारबाही हुने उहाँले बताउनुभयो ।आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्ने गरी दायर गर्न नहुनेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । निर्दोष मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उहाँले त्यसमा सचेत हुन आयोगलाई सुझाव दिनुभयो । उहाँले सञ्चारमाध्यमले पनि कसैलाई जबरजस्ती भ्रष्ट सावित गर्न नहुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*