‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा आफ्नै भएको दाबी गरिरहेको समयमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा रहेको नेकपा नै मूल पार्टी भएकाले भ्रममा नपर्न आग्रह गरे ।
नेकपाको बाग्मती प्रदेश कमिटीद्धारा शुक्रबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यक्रममा उपस्थित भएको अपार जनसमूहले नै आफ्नो नेतृत्वको नेकपालाई मुख्य पार्टीको मान्यता दिएको दाबी गरे ।
‘इतिहासमा नै यति ठूलो जनसभा पहिलोपटक भएको छ, यति धेरै कार्यकर्ता भेला भएर हाम्रै नेकपालाई मूल पार्टी भएको सन्देश दिनुभएको छ त्यसैले अब कोही अलमलमा नपरे हुन्छ, हामी रहेको नेकपा नै मूल नेकपा हो,’ अध्यक्ष ओलीले भने । जनसभामा देशका विभिन्न जिल्लाबाट आएका हजारांै कार्यकर्ताको सहभागिता थियो ।
‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन, अरूलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं तर यहाँ पनि मान्छे अटेका छैनन्,’ अध्यक्ष ओलीले भने, ‘फेरि मान्छेहरू सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर रु त्यसैले अब कोही पनि अलमलमा नपरे हुन्छ, हामी जहाँ छांै, त्यही पार्टी नै मुख्य नेकपा हो ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपाले मात्रै देशको स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्ने बताए । अध्यक्ष ओलीले आफू नेतृत्वको नेकपा नै देश बनाउने र देशको रक्षा गर्ने पार्टी भएको जिकिर गरे ।
‘देशको स्वाधीनताको रक्षा गर्ने र ठीक ढंगले अगाडि बढाउने पार्टी पनि यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रका लागि सात दशकभन्दा बढी लडेको, लोकतन्त्र ल्याउनका लागि सबैभन्दा अहं भूमिका खेलेको, देश बनाउने संकल्प बोकेको र सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा बोकेको पार्टी हाम्रै नेकपा हो ।’
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो निष्ठामा किञ्चित पनि कमी नआउने भन्दै गलत अफवाह नफैलाउन चेतावनी दिए । उनले आफू लोकतन्त्रका लागि अन्य नेताभन्दा बढी समय लडेको स्मरण गर्दै कसैले पनि लोकतन्त्र खोस्न नसक्ने र आफू लोकतन्त्रको रक्षाका लागि अविचलित रूपमा लागिपरिरहने बताए ।
उनले काम गर्न नपाएपछि संसद् विघटन गरिएको स्पष्ट पारे । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रको भविष्य उज्ज्वल छ, लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले आफूलाई गणतन्त्रविरोधी भनेर प्रचार गरेकामा आपत्ति जनाए । ‘आधा दशक लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको व्यक्ति गणतन्त्र विरोधी हुनै सक्दैन,’ उनले भने, ‘संघीय गणतान्त्रिक प्रणालीलाई कसैले तलमाथि पार्ने नसोचे हुन्छ । हामी यसको सशक्त कार्यान्वयन गरेरै अघि बढ्छांै ।’
संसद्लाई पंगु बनाउन खोजिएपछि र आफूलाई काम नै गर्न नदिएपछि चुनावमा जानुपरेको उनले प्रस्टीकरण दिए ।
दाहाल–नेपालतर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँहरूले पहिलाजस्तै किनबेच, समीकरण र जोरजामको राजनीति गर्न खोज्नुभयो । काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुप(यो ।’ उनले कार्यकर्तालाई हौस्याउँदै भने, ‘अब अस्थिरतातर्फ होइन, चुनावतर्फ नै जाऊ । अस्थिरता होइन, चुनाव नै चाहियो । जनताले चुनाव नै भनेको सबैजनाले सुने नै होलान् ।’
प्रधानमन्त्री ओलीले दाहाल–नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएर स्वतन्त्र न्यायपालिकाको अपमान गर्न खोजेको बताए । ‘तर ती संस्थाहरू स्वतन्त्र छन्, विवेकसम्मत निर्णय गर्नेछन् । कसैले कुनै धम्की नदिए हुन्छ,’ ओलीले भने, ‘चुनाव हुँदा देश संकटमा पर्छ रे । जनताले सरकार छान्दा देश संकटमा पर्छ रे, त्यसो होइन । केही मानिसले कुनामा बसेर अरूका लागि काम गर्दा देश संकटमा पर्छ । देशलाई संकटबाट बचाउन पनि ताजा जनादेश अत्यावश्यक छ ।’ प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितको उचित हेरचाह सरकारले गर्ने बताए । उनले सरकारले विकासका धेरै काम गरेको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहेको उनले बताए । ‘बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन हुन्छ ।’
ओलीले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले जस्तो यसअघिका कुनै पनि सरकारले जनताका लागि काम नगरेको दाबी गरे । मुलुकलाई समृद्ध बनाउन सरकारलाई कसैले रोक्न नसक्ने उनले बताए ।
‘हेर्दै जानुस्, नेपाल कता जान्छ रु नेपाललाई समृद्ध देश बनाउन कसैले रोक्न सक्दैन । अहिलको सरकारले जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले गरेको थियो रु यति छिटो विकास कुनै सरकारले गरेको थियो रु अहिले जस्तो काठमाडौं कहिल्यै थियो रु अहिले जति बाटा कहिल्यै बनेका थिए रु अहिले जति पुल कहिल्यै बनेको थियो रु’ उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीले सरकारले गरेको काम उत्कृष्ट रहेको दाबीसमेत गरे ।
अब दैलेखबाट पेट्रोल, डिजेल निकाल्ने दाबी गर्दै उनले देशका विभिन्न स्थानमा रहेका फलाम खानी उत्खनन गरेर उद्योग सञ्चालन गर्ने बताए । ‘नवलपरासीको धौवारीमा विशाल फलाम खानी भेटाएका छांै । त्यहाँबाट फलाम र स्टिल उत्पादन गर्न परीक्षण भइसकेको छ । अब उत्पादन गर्ने काम हामी थाल्छौं । तनहुँको मिनम डाँडा र पर्वतको फलाम खानीबाट निस्किने फलामबाट फलाम र स्टिलका कारखाना खोल्नेछौं,’ ओलीले भने ।
देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन आफूले लिएको अभियान असफल पार्न विभिन्न षड्यन्त्र गरिएको बताउँदै उनले अन्यबाट मिचिएको मुलुकको भूमि समेटी नक्सा छापेर संविधान संशोधन भएपछि आफूलाई सरकारबाट हटाउन खोजिएको आरोप लगाए ।
सोही सभालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरू कोही नभएकाले ताजा जनादेशका लागि निर्वाचनमा जान लागिएको बताए ।
अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता, समृद्धि र सुशासन दिन भएको बताउँदै उनले लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको बताए ।
‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘सबै कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढेका हौं । जनताले जे फैसला गर्छन्, त्यो हामीलाई शिरोधार्य गर्ने भनी निर्वाचनमा जान लागेका हांै ।’
पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको बताउँदै उनले हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताए ।
आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उपप्रधानमन्त्री पोखरेलले बताए ।
मांसहारी आन्दोलन गर्नेलाई चिडिया खानामा थुनिने
नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्न खोज्नेहरूलाई सिधै जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिए । ‘मांसहारी आन्दोलन गर्ने छुट कसैलाई छैन, यो नेपालको कानुनअनुसार आपराधिक कार्य हो त्यसैले त्यस्तो कार्य र आन्दोलन गर्नेहरूलाई अब सिधै जावलाखेलको चिडियाखानामा लगेर थुनिनेछ,’ थापाले भने ।
गृहमन्त्री थापाले प्रतिगमनकारीले सरकार र नेतृत्वलाई अपदस्थ गरेर आत्मसमर्पणवादी सरकार बनाउन खोजेकाले त्यस्तो कार्य रोक्न संसद् विघटन गर्नुपरेको बताए । उनले राष्ट्रिय अखण्डता र स्वतन्त्रताका लागि निर्भीकतापूर्वक लड्ने नेतृत्वको रक्षाका लागि सशक्त प्रतिरोध आवश्यक पर्ने बताए । राजनीतिक स्थिरता र राष्ट्रिय स्वाभिमानका लागि निर्वाचन अनिवार्य रहेको बताए । राजधानीडेलीबाट







