विप्लव नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

जनपत्र
२३ माघ २०७७, शुक्रबार ०७:११

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ।

यसअघि, यही माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो।

विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाकोतर्फबाट हिमा बाँस्तोला सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो।बाँस्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*