यसरी जलाउँछ राष्ट्र बैंकले नोट

जनपत्र
३० चैत्र २०७५, शनिबार २०:०१

तपाइ हामीले चलाउने नोट पुराना भएपछि नेपाल राष्ट्र बैंकले संकलन गरेर जलाउने गर्छ । राष्ट्र बैंकले बर्सेनि ठूलो संख्यामा झुत्रा नोट जलाउने गरेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक बर्षको १७ चैतसम्ममा ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम बराबरका नोट जलाइ सकिएको नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा सबैभन्दा बढी हजार रुपैयाँ दरका नोट जलाइएको छ । सो दरका ४ करोड ९ लाख ५६ हजार नोट जलाइएको छ ।

यस्तै १० रुपैयाँ दरका नोट पनि यो बर्ष ठूलो संख्यामा जलाइएको छ । सो दरका ३ करोड २१ लाख ३३ हजार नोट जलाइएको छ ।

सबैभन्दा कम भने २५० रुपैयाँ दरका नोट यो बर्ष जलाइएको छ । राष्ट्र बैंकले अहिले २५० रुपैयाँ दरका नोट छाप्दैन । विगतमा छापिएका नोट नै संकलन गरी जलाइएको हो । सो दरका नोट यो बर्ष जम्मा २८ वटा जलाइएको छ ।

राष्ट्र बैंकका अनुसार यो बर्षको १७ चैतसम्ममा १ रुपैयाँ दरका ३० हजार १८० वटा, दुई रुपैयाँ दरका ७२ हजार ९ सय ३४ वटा, पाँच रुपैयाँ दरका ३ करोड १ लाख ८१ हजार २२३ वटा, २० रुपैयाँ दरका ३ करोड ४३ हजार ३७९ वटा र २५ रुपैयाँ दरका ४ हजार ६२४ वटा नोट जलाइएको छ । राष्ट्र बैंकले अहिले १, २ र २५ रुपैयाँ दरका नोट पनि छाप्दैन ।

यस्तै चालु आर्थिक बर्षको १७ चैतसम्ममा ५० रुपैयाँ दरका ३ करोड १९ लाख, २८ हजार ५७६ वटा, सय रुपैयाँ दरका २ करोड ९८ लाख ७३ हजार २२५ वटा, पाँच सय रुपैयाँ दरका २ करोड ३३ लाख ३६ हजार १३० वटा नोट जलाइएको छ ।

कहिले हुन्छ बढी झुत्रो ?

नेपाल राष्ट्र बैंकले गरेको अनौपचारिक अध्ययन अनुसार सबैभन्दा बढी नोट झुत्रा हुने समय नै दशैं तिहार हो । दशैं र तिहारको लागि भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको छ ।

‘दशैं अगाडि राष्ट्र बैंकले वितरण गर्ने सानो दरका (सामान्यतः ५ देखि २० रुपैयाँ दरका) नयाँ नोट एकै पटकमा झुत्रा भएर आउने गरेका छन्, रंग लगाउने, चिसो हातले समाउने र कच्याककुच्युक पार्ने गरिएकोले दशैंमा वितरण गरिएका नयाँ नोट एक पटकमै झुत्रो भएर आउने गरेको पाइन्छ,’ कार्यकारी निर्देशक निरौलाले शिलापत्रसँग भने ।

यस्तै विवाह, सप्ताह, पूराण, पूजा जस्ता कार्यमा कार्यमा पनि नोट झुत्रो बनाउने प्रबृत्ति धेरै देखिएको छ । यस्ता कार्यमा नोटमा अविर, सिन्दुर जस्ता रंग लगाउने र त्यसले नोट झुत्रो बनाउने काम गरेको छ ।

पछिल्लो समयमा दशैंको बेलामा विवाह गर्ने क्रम बढेकोले पनि नोटको आयु कम हुदै गएको छ ।

‘दशैंको बेलामा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्छ, यही बेलामा विवाह गर्ने क्रम पनि बढेको छ, हामीले नयाँ नोट पठाउने र त्यही बेलामा सनातन कार्यको साथै विवाह पनि थपिएकोले धेरै नोट झुत्रो हुने गरेका छन्,’ निरौलाले भने ।

कसले बनाउँछ धेरै झुत्रो ?

विवाह, पूजा, पूराण जस्ता सनातन कार्यमा रंग लगाउनको अतिरिक्त मासु पसल, तरकारी व्यापारी, गाडीवालाले पनि नोट झुत्रो बनाउने गरेको राष्ट्र बैंकको ठहर छ । यस्तै नोटमा गरिने केरमेटले पनि नोटलाई झुत्रो बनाउन सहयोग गरेको छ ।

कसरी गर्ने संरक्षण ?

नोट महत्वपूर्ण बस्तु हो भनेर हिफाजत गर्नु नै पहिलो संरक्षण हुने कार्यकारी निर्देशक निरौला बताउँछन् ।

‘विदेशी नोट भयो भने हामी जतनसाथ राख्छौं, नेपाली नोट भयो भने कच्याककुचुक पारेर खल्तीमा खादिँन्छ, नेपाली नोटलाई पनि संरक्षण गरेर जतनसाथ राख्ने बानी बसाल्नु आवश्यक छ,’ निरौलाले भने ।

नोट संरक्षण नगर्दा राज्यलाई बर्सेनि ठूलो परिमाणमा आर्थिक नोक्सानी हुने गरेको छ ।

यसो गर्ने कि !

नोट संरक्षणमा राष्ट्र बैंकले कडा कदम चाल्न आवश्यक देखिन्छ । पहिलो कुरा त दशैंको बेलामा सबै दरका नयाँ नोट दिने कार्य बन्द गर्दा उचित हुन्छ । दशैंको बेलामा नयाँ नोट वितरण गर्नुको साटो आवश्यकताको आधारमा जुनसुकै बेलामा पनि सफा वा नयाँ नोट वितरण गर्ने परिपाटीको सुरुआत गर्नुपर्छ ।

दशैंमा नयाँ नोट दिदा राज्यलाई दोहोरो मार परेको छ । एक त सफा नोट हुदाहुदै नयाँ नोट वितरण गर्नु परेको छ भने अर्काेतिर दशैमा वितरण गरिएका नयाँ नोट एकै पटकम झुत्रो भएर फर्कने गरेका छन् । त्यसैले दशैंको बेलामा एउटा निश्चित दरको निश्चित परिमाणको नयाँ नोट मात्रै दिने र बाँकी सफा नोट दिने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।

यस्तै अविर लगायतका रंग र मासु पसलमा रगत लागेका नोटको आधा मात्रै भुक्तानी दिने व्यवस्था मिलाउन सके नोट झुत्रो पार्ने प्रबृत्ति कम हुन सक्छ ।सिलापत्र अनलाईनबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*