आरोपपत्र फिर्ता लिई निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ : मन्त्री श्रेष्ठ

जनपत्र
१५ माघ २०७७, बिहीबार ०६:२९

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिई निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित नेकपा सिरहा जिल्ला सदस्यको शपथग्रहण कार्यक्रममा उहाँले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको आरोपपत्र फिर्ता लिई अदालतको निर्णय मान्न र निर्वाचनमा जान तयार भए पार्टी एक भएर जानसक्ने बताए ।

मन्त्री श्रेष्ठले निर्वाचन आयोगले अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिमा र महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैध ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएको बताउँदै सडक आन्दोलन रोकेर पार्टीलाई एकताबद्धरुपमा अघि बढाउने बताए ।“सडक आन्दोलनले मुलुकलाई निकास दिन सक्दैन”, उनले भने, “ताजा जनादेशका लागि निर्वाचनमा जानु नै मुलुकको हितमा हुन्छ ।” सो अवसरमा पार्टीको सिरहा जिल्ला इञ्चार्जसमेत रहनुभएका मन्त्री श्रेष्ठले सिरहाको चारवटै निर्वाचन क्षेत्रबाट पार्टीको जिल्ला कमिटीमा मनोनयन भएका ४० जनालाई शपथग्रहण गराए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गङ्गाप्रसाद यादव, रामशङ्कर यादव, रामरति राम, रामअवतार यादवलगायतले जिल्ला कमिटीका सदस्यलाई बधाई ज्ञापन गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*