संसद् विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको आन्दोलन

जनपत्र
१४ माघ २०७७, बुधबार ०६:४०

संसद् पुनस्र्थापना कि चुनाव भन्ने तस्बिर स्पष्ट नपारे पनि कांग्रेसले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेताहरूको वैचारिक मतान्तरकै बीच पुनः तीनदिने विरोध कार्यक्रम घोषणा गर्दै केन्द्रीय समिति बैठक मंगलबारबाट सकिएको छ ।

कांग्रेसले संसद् विघटनको विरोधमा १९ र २४ माघ तथा ३ फागुनमा पुनः जिल्लास्तरकै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले प्रदेश र केन्द्रस्तरमा ठूला विरोध सभा गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको पूर्वतयारी प्रभावित हुने भन्दै त्यस्ता सभाहरू फागुनको दोस्रो साता गर्ने भनेपछि यसपटक जिल्लास्तरकै कार्यक्रम मात्रै घोषणा गर्ने सहमति जुटेको हो ।

बैठकले १९ माघमा भ्रातृ संस्थाहरूले र २४ माघमा शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र कार्यक्रम गर्ने तथा ३ फागुनमा जिल्ला कार्यसमितिहरूले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनमा उत्रिएका नागरिकहरूमाथि बल प्रयोग भएकोप्रति भत्र्सना गरेको छ । यस्तै, प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।

७ पुसबाट सुरु भएको कांग्रेसको बैठक ८, ९ र १० पुससम्म निरन्तर बसेपछि १३ पुसको विरोध कार्यक्रममा लागेको थियो । त्यसपछि १९ पुसको बैठकले दोस्रो चरणको विरोधका कार्यक्रम घोषणा गरेको थियो । संसद् विघटनको विरोधमा कांग्रेसले १३ पुसमा संसद् निर्वाचन क्षेत्रमा, २५ पुसमा प्रदेश सभा निर्वाचन क्षेत्रमा, ३ माघमा स्थानीय तहमा र ८ माघमा वडास्तरमा विरोध ¥याली तथा विरोध सभा गरिसकेको छ । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*