अमेरिकाका राष्ट्रपति बाइडेनले पहिलोपटक गरे रुसका राष्ट्रपति पुटिनसँग कुराकानी, दिए चेतावनी

जनपत्र
१४ माघ २०७७, बुधबार ०६:३४

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्।ह्वाइट हाउसका अनुसार बाइडेनले मंगलबार फोन गरी पुटिनसँग रुसका विपक्षी नेता एलेक्सी नभाल्नी पक्राउ, साइबर जासुसमा रुसको संलग्नता र अफगानिस्तानमा अमेरिकाको सैनिक हत्याका लागि गरिएको पुरस्कार घोषणाप्रति चिन्ता व्यक्त गरेका हुन्।

कुराकानीका क्रममा बाइडेनले रुसले आफूलाई वा आफ्ना सहयोगीलाई हानी हुने कुनै पनि कामरकारबाही गरेमा अमेरिकाले त्यसको कडा जवाफ दिने चेतावनी दिए। यसका साथै दुवै राष्ट्रपतिले पारदर्शीता र सौहार्दतालाई अघि बढाउने सहमति जनाएका छन्। यस्तै बाइडेनले पुटिनसँग दुई देशबीच आगामी महिनाको सुरुवातमा सकिने हतियार नियन्त्रणसम्बन्धी सन्धिको समयावधि अरू ५ वर्ष लम्ब्याउन आवश्यक रहेको बताएका थिए।

अधिकारीका अनुसार रुसले नै गत हप्ता बाइडेनसँग वार्ताका लागि अनुरोध गरेको थियो र त्यसमा अमेरिकाका राष्ट्रपतिले सहमति जनाएका थिए। तर पुटिनसँग कुराकानी गर्नुअघि नै बाइडेनले आफ्ना कर्मचारीका साथै बेलायत, फ्रान्स र जर्मनीलगायत युरोपियन सहयोगीसँग वार्ता गर्न चाहन्थे। मंगलबार पनि पुटिनसँग फोनवार्ता गर्नुअघि उनले नाटोका सेक्रेटरी जनरल जेन्स स्टोलटेन्बर्गसँग संवाद गरेका थिए। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*