‘मास्टर’ को बम्पर ओपनिङ, पहिलो दिन कमायो ४० करोड
साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति स्टारर ‘मास्टर’ लाई बक्सअफिसमा जबरजस्त ओपनिङ मिलेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन ४० करोडको आसपास कमाई गरेको भारतीय मिडियाले बताएका छन् । कोरोना कहरको समयमा बम्पर ओपनिङ गर्ने यो पहिलो फिल्म हो । लोकेश कनागराज निर्देशित फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो ।
यसको हिन्दी भर्सन भने बिहीवारबाट भारतसँगै अन्य देशमा प्रदर्शनमा आएको छ । बलिउड लाइफले आफ्नो रिपोर्टमा ट्रेड एनालिस्टको भनाई उद्धत गर्दै फिल्मले पहिलो दिन तमिलनाडुमा २३ करोड कमाएको उल्लेख गरेको छ । त्यस्तै, केरल र कर्नाटकमा ३र३ करोड छापेको फिल्मले तेलंगाना र आन्ध्र प्रदेश बेल्टमा ४।५ करोड र अन्य ठाउँमा १।५ करोड कमाएको छ ।
योसँगै फिल्मले ओभरसिजबाट प्रदर्शनको पहिलो दिन ४ करोड छापेको छ । ‘मास्टर’ रिलिजपछि ट्रेड एनालिस्ट तरन आदर्शले सोसल मिडियामा लेखेका छन्, ‘यसले बक्सअफिसमा सुनामी ल्याउने छ । फिल्मलाई जबरजस्त सुरुवात मिलेको छ ।’ फिल्ममा विजय र विजय सेतुपतिका अलावा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास र नसरलगायतको पनि अभिनय रहेको छ ।






