संसद पुनःस्थापनाको माग गर्नु जनमतको अपमान होः महेश बस्नेत

जनपत्र
२ माघ २०७७, शुक्रबार ०६:०९

प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले प्रादेशिक संरचनाको नेतृत्व प्रभावकारी नदेखिएको बताएका छन्।विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा बस्नेतले तीन तहको सरकारमध्ये प्रदेश सरकार प्रभावकारी नभएको बताएका हुन्। पत्रकार सम्मेलनका क्रममा संघ र स्थानीय सरकारको काम कारबाही सकारात्मक र स्तरीय रहेपनि प्रदेशले उल्लेख्य कार्य गर्न नसकेको बताएका हुन्।

स्थानीय तहलाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रीत गर्नमा जोड दिएका बस्नेतले स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रदेश सभा सदस्यको मान्यता दिएर उनीहरुबाटै निर्वाचित प्रदेशसभाबाट सरकार बनाउँदा जनतामा राम्रो सन्देश जाने बताए। प्रदेश सरकार प्रभावकारी नदेखिएको बताएका उनले स्थानीय तहलाई बलियो बनाउँदै त्यहीँबाट प्रदेशसभा निर्माण गर्न सकिए मुलुकको आर्थिक व्ययभार कम हुनसक्नेतर्फ उनले संकेत गरे। यसका लागि संघीय सरकारको बजेट र स्थानीय तहबीचको बजेटको समन्वयको काम गर्न सकिनेमा उनले जोड दिए। त्यसैगरि अहिलेको राजनीतिक परिवेशमा संसद पुनःस्थापनालाई जनताको जनमतको अपमानको रुपमा आफूले लिएको उनले बताएका छन्।

६४ प्रतिशत जनताको मतको संसद विघटन भएको हुँदा निर्वाचन नै उपयुक्त हुने उनको भनाइ छ। तथापी नेकपाको भित्रि विवादसँगै अर्को खेमा बनाएर सडकमा उत्रिएका दाहाल–नेपाल पक्षलाई इंगित गर्दै बस्नेतले भने, ‘उहाँहरु लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनबाट भाग्नु भएको छ। प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टी समेत निर्वाचनका लागि सकारात्मक देखिएको अवस्थामा दाहाल–नेपाल पक्ष भने निर्वाचनबाट टाढिन खोजेको छ।’

नेकपाको विवादसँगै निर्वाचन चिह्न सूर्यका विषयमा उनले एमालेको भावनासँग जोडिएको चिह्नको आडमा दाहाल–नेपाल पक्षले सिंगो पार्टीमाथि एकपक्षीय रुपमा प्रहार गरेको आरोप लगाएका थिए। देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*