वैशाखमा चुनाव गराउने ओलीको नियतमाथि देउवाको आशंका
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणा गरेपछि कांग्रेस केही उत्साहित भए पनि देउवाले चुनाव हुनेमै संशय व्यक्त गरेका छन्। बिहीबार पर्वतमा हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई सम्बोधन गर्दै देउवाले प्रजतान्त्रलाई असर पर्ने गरी प्रतिनिधिसभा विघटन हुने अर्कोतर्फ चुनाव पनि नगर्ने हो कि भन्दै प्रधानमन्त्री ओलीको नियतमाथि आंशका व्यक्त गरेका हुन्।
कार्यक्रममा देउवाले भने, ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्। उनले चुनाव गराउँछन् कि गराउँदैनन्न शंका छ। प्रतिनिधिसभा खोस्ने अनि चुनाव पनि नगर्ने अवस्था हुन सक्छ। हामीलाई डर छ।’ राजनीतिक रुपमा विभाजित नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध सडकमा आउन आग्रह गरिरहेको अवस्थामा उनले ओलीको चुनाव गराउने नियमतमाथि प्रश्न उठाएका हुन्। बुधबार दाहाल नेपालले देउवालाई भेटेर प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आउन र संसद पुनस्थापना गरेर नयाँ सत्ता सहकार्यका लागि आग्रह गरेका थिए।
तथापी बिहीबार देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा मुद्दा चलेकाले सडकबाट दबाब दिन नहुने उल्लेख गरे। पुस ५ गते ओलीले गरेको संसद विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। अदालतलाई विवेक प्रयोग गर्न दिनुपर्ने उनको भनाइ थियो। देउवाले भने, ‘अदालतले विवेक प्रयोग गर्नेछ भन्नेमा विश्वास छ। विचाराधीन मुद्दामा यो गर त्यो गर भन्न मिल्दैन। कांग्रेसले अदालतलाई धम्क्याउने, तर्साउने काम गदैन।’
उनले अरु नेताहरुलाई पनि अदालतलाई प्रभावित पार्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे। सभापति देउवाले ओली नेतृत्वको कम्युनष्टि सरकार जनताको पक्षमा काम गर्न असफल भएको आरोप लगाए। काठमाडौँबाट पर्वतका लागि उडेको देउवा चढेको हेलिकोप्टर खराब मौसमका कारण गोरखाको पालुङटारमा आकस्मिक अवतरण गरेको थियो भने केही बेरपछि पर्वत उडेको थियो। देशसञ्चारबाट







