देउवाको भूमिका शंकास्पद : पौडेल समूह

जनपत्र
२७ पुष २०७७, सोमबार ०६:२२

संसद् विघटनको विरोधमा कांग्रेसले दुईपटक सडकमै उत्रिएर विरोध प्रदर्शन गरिसकेको छ । तर, संसद् पुनस्र्थापनाको माग गर्ने वा नगर्ने रु भन्ने विषयमा केन्द्रीय समितिदेखि उब्जिएको विवाद अझै कायम छ । संसद् विघटनको विषयमा सभापति शेरबहादुर देउवा नरम प्रतिक्रिया दिँदै छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल झन्झन् आक्रामक बन्दै छन् । देउवाले शनिबार मात्रै संसद् पुनस्र्थापना नभए कांग्रेस चुनावका लागि तयार रहेको सन्देश कार्यकर्तालाई दिए । तर, आइतबार बिहानै देउवानिवासमै पुगेर पौडेलले कांग्रेसले ढुलमुले प्रवृत्ति छाडेर स्पष्ट बाटो तय गर्नुपर्ने माग राखे ।

संस्थापक नेता सूर्यप्रसाद उपाध्यायबारे लेखिएको पुस्तक विमोचन कार्यक्रम देउवानिवासमै राखिएको थियो । कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले अहिलेको राजनीतिक अवस्थाबारे खासै बोलेनन् । तर, सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भने सवालजवाफ नै चल्यो । देउवा र पौडेलबीच ७ पुसको केन्द्रीय समितिदेखिको मतभेद आइतबार पनि कायम देखियो ।

पौडेलको सडकबाटै संसद् पुनस्र्थापनाको पक्षमा कांग्रेसले बल गर्नुपर्नेमा जोड छ । ‘संविधान फ्याँकेर मुलुकलाई भताभुंग पारेका वेलामा कांग्रेसबाट जनताले सही नेतृत्व र प्रस्ट दिशा खोजेका छन्, धुरमुरको बाटो होइन,’ पौडेलले भने । ‘संविधान नै फालेर चुनाव गर्नुको के अर्थ रु’ देउवासँग पौडेलको प्रश्न थियो, ‘प्रधानमन्त्री स्वयं पूर्वप्रधानन्यायाधीशहरूले विचार राखेकै आधारमा धम्क्याउँदै छन्, अदालतलाई धम्क्याउँदै छन् र संसद् पुनस्र्थापना हुँदैन भनेर ठोकुवा गरिरहेका छन्, अदालतको ठेक्का लिइरहेका छन्,’ पौडेलले भने, ‘योभन्दा ठूलो फासीवाद के हुन्छ ?’

कांग्रेसले द्विविधा नराखी सीधा बाटो देखाउनुपर्ने पौडेलको जोड थियोे । ‘चुनाव आयो भन्नेबित्तिकै गइहाल्ने कुरा ठीक होइन, अहिले देश भुमरीमा छ, भुमरीबाट बचाउनु कांग्रेसको पहिलो दायित्व हो,’ उनले भने । संविधानमा प्रधानमन्त्रीले संसद् विघटनको व्यवस्था नरहेको भन्दै पौडेलले थपे, ‘संविधान बनाउने हामी हौँ, संविधान बनाउने हामी ज्यँुदै हुँदाहुँदै,’ पौडेलले भनिनसक्दै छेवैमा बसेका देउवा बोले, ‘म पनि ज्यँुदै छु ।’ देउवा बीचमै बोलेपछि पौडेलले भने, ‘तपाईं–हामी सबैले बनाएको संविधान हो ।’

सभापति देउवाले भने अदालतमा विचाराधीन विषयमा पार्टीले नबोल्ने अडान राखे । ‘हामी अदालत मान्छौँ, अदालतले दिएको निर्णय मान्छौँ, यदि संसद् पुनस्र्थापना भएन भने पनि अदालतभन्दा ठूलो अदालत जनता हुन्, हामी जनतामाझ जान्छौँ,’ देउवाले दोहो¥याए ।

पौडेल समूहको निष्कर्ष– देउवाको भूमिका शंकास्पद

संसद् विघटन र पार्टीको १४औँ महाधिवेशनलाई लिएर आइतबारै पौडेल पक्षले छुट्टै बैठक गरेको छ । बैठकमा नेताहरूले संसद् विघटनपछिको देउवाको भूमिकामाथि शंका व्यक्त गरेका छन् । महामन्त्री डा। कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, नेता प्रकाशमान सिंह, डा। रामशरण महत, अर्जुननरसिंह केसी, डा। मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्ती, जीवन परियारलगायत सहभागी थिए । करिब चार घन्टासम्म बसेको बैठकमा महामन्त्री कोइराला धेरै बोलेनन् ।

पौडेलले संसद् विघटनपछिको राजनीतिक घटनाक्रमबारे बोले । ‘सभापतिजीका कारण कांग्रेसमाथि नै प्रश्न तेर्सिएको छ,’ उनले भने । शनिबार देउवाले दिएको अभिव्यक्तिका कारण सरकारको असंवैधानिक कदमलाई बल पुगेको बैठकको निष्कर्ष थियो । ‘असंवैधानिक र अलोकतान्त्रिक भनेर आन्दोलन गरेपछि पुनस्र्थापनाको कुरा प्रस्ट राख्नुपर्ने हो, त्यसबारे नेता कृष्णप्रसाद सिटौला र वरिष्ठ नेता पौडेल एकमत हुनुहुन्छ, तर सभापतिज्यूको अभिव्यक्तिले पार्टीको धारणामाथि नै प्रश्न उठेकोबारे छलफल भयो,’ बैठकपछि नेता जीवन परियारले भने ।

बैठकले आन्दोलनलाई थप सशक्त बनाएर सरकारको असंवैधानिक कदम सच्याउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ । पौडेल पक्षले देउवाले संसद् विघटनको बहानामा १४आँै महाधिवेशनलाई समेत प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न सकिन्न :देउवा

देउवाले देशमा राजा आऊ, देश बचाऊ भनेर आन्दोलन चलिरहेका वेला पृथ्वीजयन्ती मनाउन नसकिने बताएका छन् । नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने प्रस्ताव गरेका थिए । ‘कांग्रेसले लाज मान्नुहुँदैन, पृथ्वीजयन्ती मनाऔँ,’ देउवानिवासमै आइतबार बिहान भएको कार्यक्रममा केसीको प्रस्ताव थियो ।

सोमबार गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती हो । केसीले नेपाल एकीकरण गरेका शाहको जन्मजयन्ती मनाउनुपर्ने प्रस्ताव गरे । ‘०७४ सालमा म पृथ्वीजयन्ती मनाउन नुवाकोट गएको सम्झन्छु, यसले इतिहासमाथि सम्मान कायम हुन्छ, राष्ट्रवादी चरित्र देखाउँछ, त्यसैले यो दिनलाई विशेष रूपले मनाऔँ,’ देउवासँग केसीले आग्रह गरे । तर, देउवाले केसीको प्रस्ताव अस्वीकार गरे । ‘राजा आऊ देश बचाऊ’ भनेका वेला पृथ्वीजयन्ती मनाउन सकिन्न, यस्तो वेला पृथ्वीनारायण शाहको सालिकमा माला लगाउन सकिन्न,’ देउवाले जवाफ दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*