काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले उत्कृष्ट गन्तव्य स्थलको पहिचान गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीनै तहको सरकारलाई निर्देशन दिनुभएको छ । पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने लक्ष्य अनुरुप गन्तव्यको छनोट गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
सिंहदरबारमा बसेको भ्रमण वर्ष मूल आयोजक समितिको बैठकमा प्रधानमन्त्री ओलीले १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनु पर्नेमा पनि सबैलाई सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनु भयो । उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय पनि गरेको बताउनु भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिनु भएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराउनु भयो । बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनु भयो ।
बैठकमा गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिवद्धता जनाएको थियो । सो नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनु भयो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीनै तहको सरकारलाई प्रधानमन्त्री ओलीको निर्देशन
जनपत्र
२८ चैत्र २०७५, बिहीबार ०६:५२
