संसद् विघटनविरुद्ध नेकपाको एकमहिने आन्दोलन घोषणा

जनपत्र
१९ पुष २०७७, आईतवार ०६:१२

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरोध र संविधानको रक्षाका लागि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार पत्रकार सम्मेलनमार्फत प्रचण्ड–नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

२० पुसदेखि २३ माघका लागि घोषित आन्दोलनमा कालो झन्डा, मोटरसाइकल र्‍यालीदेखि काठमाडौंसहित सातवटै प्रदेशमा विरोध सभासम्मका कार्यक्रम छन् । १६ र १७ माघमा बागमतीबाहेकका प्रदेश र २३ माघमा राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पार्टी प्रवक्ता श्रेष्ठले सबैलाई सहयोग र सहभागिताका लागि अपिल गरे ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिगमन नसच्चिएसम्म संघर्ष जारी रहने, संघर्षको रूप शान्तिपूर्ण हुने स्पष्ट पारेको छ । ‘हामी पुनः स्पष्ट रूपले जोड दिन चाहन्छौँ, असंवैधानिक कदमलाई पूर्ण रूपमा असफल पारेर प्रतिनिधिसभा सुचारु नगर्दासम्म र प्रतिगमनको खतरालाई निस्तेज नपार्दासम्म हाम्रो संघर्ष जारी रहनेछ । हाम्रो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ,’ विज्ञप्तिमा छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

घोषित कार्यक्रममा २० पुसमा पालिकास्तरमा र २५ पुससम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने, २५ पुसमा प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने, २१ पुसमा संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तक्र्रिया कार्यक्रम र २३ पुसमा नागरिक समाजसँग व्यापक अन्तक्र्रिया गर्ने उल्लेख छ ।

त्यस्तै, २४ पुसमा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र र संविधानको पुस्तक दिने तथा राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने, २६ पुसमा सडक संविधान वाचन–व्याख्या कार्यक्रम गर्ने, २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ र २८ पुसमा प्रदेश २, गण्डकी र कर्णाली प्रदेश तथा २९ पुसमा बागमतीमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, २८ पुसमा घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझन्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने, २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला गर्ने, ५ माघमा सबै पालिकामा विरोध प्रदर्शन र सभा गर्ने, १० माघमा राजधानीलगायत सबै सहरी केन्द्रहरूमा मोटरसाइकल ¥याली गर्ने, १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विरोध प्रदर्शन र सभा तथा १७ माघमा प्रदेश २ मा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, २२ माघमा वडा तहमा देशव्यापी मसाल जुलुस गर्ने तथा २३ माघमा राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक भएको छ । यसबीचमै उद्योग व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम र लेखक–कलाकार, संस्कृतिकर्मी र बुद्धिजीवीको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गर्ने, स्थानीय पार्टी र जनवर्गीय संगठनका सिर्जनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिइने सार्वजनिक कार्यक्रममा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध सबै राजनीतिक पार्टीसँग संयुक्त संघर्ष गर्नका लागि वार्ता र समन्वय भइरहे पनि अझै निर्णय नभइसकेकाले समन्वय कामय गर्दै संयुक्त प्रहार केन्द्रित गर्ने गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक नियुक्तिहरूको भर्त्सना

प्रतिनिधिसभा विघटनपछि कामचलाउ हैसियतमा पुगिसकेको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिइसकेपछि पनि पुरानो मिति राखेर संवैधानिक आयोगहरूमा नियुक्तिहरू गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले भर्त्सना गरेको छ ।

‘आफैँले प्रतिनिधिसभा विघटनको घोषणा गराउने काम गरिसकेपछि सरकार स्वतः कामचलाउ हुने संवैधानिक एवं लोकतान्त्रिक मान्यताका विरुद्ध नियमित सरकारझैँ मन्त्रिपरिषद् पुनर्गठनलगायतका जथाभावी निर्णयहरू गरिरहेको छ । संवैधानिक परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णयमा सामेल भएर पनि अध्यादेश कायमै राख्ने र संवैधानिक परिषद्को बैठक बसेको पछिल्लो निर्णयमा कुनै निर्णय भएको छैन भनी रेकर्डेड अभिव्यक्ति दिएर पनि त्यही बैठकबाट विभिन्न नियुक्तिको सिफारिस गरेको लज्जास्पद गतिविधिसमेत देखिएको छ,’ विज्ञप्तिमा छ, ‘संविधान र लोकतन्त्रको न्यूनतम मान्यता र मर्मको विरुद्धमा यस प्रकारका गतिविधिको तीव्र भत्र्सना गर्दछौँ ।’नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*