२४ वर्षीया अन्सिका शर्माले जितिन् मिस युनिभर्स नेपालको उपाधि
यस वर्षको मिस युनिभर्स नेपालको उपाधि २४ वर्षीया अन्सिका शर्माले जितेकी छन्। प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन्। दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्। टप फाइभमा न्यान्सी खड्का पनि परेकी थिइन्। राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन्।
अन्सिका अष्ट्रेलियामा छँदा मिस ओसियानमा फर्स्ट रनरअप बनेकी थिइन्। अन्सिकाले मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। आयोजकहरुका अनुसार अन्सिकाले पुरस्कारमा नगद २० लाख पाएकी छन्। यसअघिसम्म मिस युनिभर्स र मिस वर्ल्डका लागि हिडन ट्रेजरले नै प्रतियोगिता आयोजना गर्ने गरेकामा यस वर्षदेखि मिस युनिभर्स बेग्लै आयोजना गर्न थालिएको हो। प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै संसारका विभिन्न स्थानमा बस्ने नेपाली युवतीहरु सहभागी भएका थिए।







