चुनावी भविष्य : प्रचण्ड–बाबुरामलाई भय, देउवालाई आश !

जनपत्र
१५ पुष २०७७, बुधबार ०६:२७

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै देशलाई चुनावतिर लैजान खोजेका छन् । आगामी बैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरिएको छ । विपक्षी पार्टीले संसद विघटनलाई असंवैधानिक भनिरहँदा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा पुगिसकेको छ । संसद विघटन असंवैधानिक हो वा संवैधानिक हो भनेर अदालतबाटै यकिन हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको फैसला स्वीकार गर्ने बताइसकेका छन् ।

सोमबार भएको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत भक्तपुरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘न्यायालयबाट जस्तो निर्णय हुन्छ, पक्षमा होस् वा विपक्षमा होस् । निर्णय मान्दै आइरहेका छौं । स्वतन्त्र न्यायलयको अदालतको निर्णय मान्नेछौं । अदालतमा विचाराधीन विषयमा यो गर उ गर भनेर कांग्रेसले प्रेसर दिन सक्दैन, हाम्रो पार्टी भन्दैन । अदालतको निर्णय मान्नेछौं ।’ देउवाले अदालतको निर्णय मान्ने मात्रै होइन, २ वर्षअघि नै हुने घोषणा भइसकेको बैशाखको निर्वाचनबाट आश समेत गरेका छन् । कांग्रेस संस्थापनले आफू कमजोर रहेको प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई जोड दिएको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा र डा। बाबुराम भट्टराई नेता रहेको जसपाले भने संसद पुनर्स्थापनालाई जोडतोडका साथ उठाइरहेको छ । सर्वोच्च अदालतको फैसलालाई पर्खिनेभन्दा पनि सडक संघर्षबाटै संसद पुनर्स्थापना गराउन सरकारलाई बाध्य पार्ने प्रचण्ड–बाबुराम पक्षहरूको रणनीति छ । तर संसद पुनर्स्थापनाको आन्दोलनमा प्रचण्ड–बाबुरामले कांग्रेसबाट साथ पाएका छैनन् भने आफू पनि एकत्रित भएका छैनन् । संसद विघटनविरुद्ध रहेका पार्टीहरू पनि छिन्नभिन्न आन्दोलन गरिरहेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले कमजोर प्रदर्शन गर्ने अनुमान गरिसकेका छन् । सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले सकभर संसद पुनर्स्थापना नै हुने र चुनावमै जानुपरे कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आगामी चुनावपछि कांग्रेस नै ठूलो पार्टी हुनसक्ने र आफूले नेतृत्व गरेको पार्टी पनि कांग्रेसकै हाराहारीमा पुग्ने भएकाले चुनावपछि दुवै पार्टीबीच सहकार्य गर्न जरुरी हुने प्रचण्डले बताएका छन् । झण्डै दुईतिहाइ बहुमतप्राप्त पार्टीको अध्यक्ष रहेका प्रचण्डलाई कांग्रेसभन्दा तल पर्नुपर्ने चुनाव देखेर डर लागेको छ, प्रचण्डले सामान्य अवस्थामा चुनावलाई स्वीकार्ने अवस्था देखिएको छैन । यसअघिको निर्वाचनमा कांग्रेसको साथ पाएर निर्वाचित भएका डा। भट्टराईलाई पनि आगामी चुनावमा सजिलो छैन । काठमाण्डुपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*