संसद विघटन विरुद्धको सर्वदलीय आन्दोलन छिन्नभिन्न

जनपत्र
१५ पुष २०७७, बुधबार ०६:२९

पुस ५ गते आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि नेपाली राजनीति तरङ्गित भयो । त्यसैदिन साँझ जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई लगायत नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगे ।

त्यसअघि नै ओली सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकठाउँमा आउने वातावरण बनिरहेको थियो ।संसद विघटनको भोलिपल्ट पुस ६ गते सोमबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जसपाको बैठक बस्यो । संसद विघटनविरुद्ध समान धारणा बनायो । तर समान र सामूहिक आन्दोलन बन्न सकेन ।

कांग्रेस पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको थियो, ‘प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएकोले तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’

आगामी आन्दोलनका कार्यक्रम तय गर्न आ–आफ्नो दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी सर्वदलीय बैठकले गरेको थियो । संसद विघटनविरुद्ध सामूहिक संघर्ष गर्नुपर्ने मत डा। बाबुराम भट्टराई लगायत नेताहरूले राख्दै आएपनि समान धारणा मात्रै आयो । आन्दोलनहरू छुट्टाछुट्टै भइरहेका छन्, सर्वदलीय आन्दोलन छिन्नभिन्न भएको छ ।

जसपा नेपालले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गरेको छ । नेपाली कांग्रेसले पुस १३ गते देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले मंगलबार देशभर प्रदर्शन गरिरहेको छ । संसद विघटनविरुद्ध समान धारणा बनाएका दलहरू छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन्, आन्दोलनमा सामूहिकता किन देखिएन रु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*