मकवानपुरका दशवटै स्थानीय तहमा कर्मचारी अभाव

कैलाश गाउँपालिकामा एक जना मात्र कर्मचारी ।
बिबश अधिकारी
२६ चैत्र २०७५, मंगलवार १७:४९

मकवानपुरका दशवटै स्थानिय तहमा कर्मचारी अभाबका कारण काम गर्नका लागि जनप्रतिनिधिहरुलाई समस्या भएको छ । यता मकवानपुरको बिकट कैलाश गाउँपालिकामा त कर्मचारी समायोजनपछी एक जना  मात्र कर्मचारी हुँदा वडा गाउँपालिकाबाट हुने कुनैपनि काम हुन सकेको छैन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकामा दरबन्दी अनुसार कर्मचारीको समस्या त छदैछ तर गाउँपालिकामा कर्मचारी नहुँदा धेरैनै समस्या बेहोर्नुपरेको छ । कर्मचारीको समायोजनपछी त यो समस्या झनै बढेको जनप्रतिनिधिहरु बताउँछन् ।

देश संघीयतामा गएसंगै सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने कुराले जनतादेखि जनप्रतिनिधिसम्म सबै निकै खुसी भएका थिए । तर कार्यभार सम्हालेको २ वर्ष पुग्नै लाग्दा समेत स्थानीय तहहरुमा पुर्ण रुपमा कर्मचारी व्यवस्थापन हुन नसक्दा मकवानपुरका निर्वाचित जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो गरेका छन् । अझ अहिलेको कर्मचारी समायोजनले गर्दा मकवानपुरका स्थानीय तहहरुमा कर्मचारीको चरम अभाव सृजना भएको छ । जसले गर्दा दैनिक कामकाज ठप्प भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

मकवानपुरका १० स्थानीय तह मध्ये अहिले कतिपय स्थानीय तहमा कर्मचारी अभावका कारण दैनिक कार्यालय संचालनमा नै समस्या देखिएको छ । कर्मचारी अभावका कारण विकास निर्माणदेखि दैनिक कार्यालय संचालनमा समेत समस्या भएको जनप्रतिनिधिहरुको भनाई छ । कागजी रुपमा मुकलुक संघीयतामा गए तापनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको उनिहरुको गुनासो छ । यसले संघीयतालाई नै विफल बनाउने हो कि भन्ने उनिहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहमा अहिले प्रशासकीय प्रमुख नै नहुँदा झन समस्या भएको उनिहरु बताउँछन् ।

 कैलाश गाउँपालिकामा एक जना मात्र कर्मचारी ।

जिल्लाको विकट कैलाश गाउँपालिकामा अहिले एकजना मात्र कर्मचारी हुँदा समस्या भएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । गाउँपालिकाको दरबन्दी ३९ जना रहेकोमा अहिले एकजना मात्र कर्मचारी भएको अध्यक्ष मोक्तानले भन्नुभयो । स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै विकास निर्माणका योजना सञ्चालनमा पनि चुनौती थपिएको अध्यक्ष टंक मोक्तानको भनाई छ । कर्मचारी अभावको कुरा माथिल्लो निकायमा बारम्बार जानकारी गराउँदा समेत कर्मचारी प्राप्त नभएको उहाँले बताउनुभयो ।

 हेटौंडामा ९५ जना कर्मचारी आउनुपर्नेमा अहिलेसम्म जना आए

मकवानपुरका १० स्थानीय तह मध्ये अहिले सबै जसोमा कर्मचारी अभाव रहेको छ । दरबन्दी अनुसारको कर्मचारी मकवानपुरका कुनै पनि स्थानीय तहमा नरहेको पाईएको छ । जिल्लाको एक मात्र हेटौंडा उपमहानगरपालिकामा १ जना प्रमुख प्रशासकीयका रुपमा भगवान अर्याल आउनुभएको छ, भने अन्य दुईजना सातौं तहका कर्मचारी हुनुहुन्छ । उपमहानगरपालिकाको पुर्व स्वीकृत दरबन्दी २ सय ८ रहेकोमा अन्य सबै स्थानीय तहका कर्मचारीबाट संचालन भईरहेको छ । ९५ जना कर्मचारी आउनुपर्नेमा अहिलेसम्म उपमहानगरपालिकामा जम्मा ३ जना कर्मचारी आउनुभएको उपमहानगरपालिकाले जनाएको छ । हाल उपमहानगरपालिकामा १ सय ९४ जना कर्मचारी कार्यरत रहेको मध्ये ३ जना बाहेक सबै स्थानीय तहकै कर्मचारी रहेको उपमहानगरपालिकाका सुचना अधिकारी शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

थाहा नगरपालिकामा ९६ जना दरबन्दी ५५ जना मात्र कार्यरत

मकवानपुर जिल्लाको एक मात्र थाहा नगरपालिकामा पनि कर्मचारी समस्या रहेको मेयर लबशेर बिष्टले बताउनुभयो । नगरपालिकामा पहिलेकै प्रशासकीयबाट काम गरिरहनुभएका मेयर बिष्टले असारसम्म प्रशासकीय परिर्वतन नगर्ने बताउनुभएको छ । नगरपालिकामा ९६ जना पुर्व स्वीकृत दरबन्दी मध्ये हाल ५५ जना कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । जसमा १८ जना निजामति बाहेक सबै करारका कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाको पनि त्यस्तै हालत

जिल्लाको मनहरि गाउँपालिकामा प्रशासकीयका रुपमा आउनुभएका देवराज चौलागाईले पनि गाउँपालिकामा कर्मचारी अभाव रहेको बताउनुभयो । वडा कार्यालयहरुमा सचिव तथा पालिकामा विभिन्न शाखाहरुमा कर्मचारी अभाव रहेको उहाँले जानकारी दिनुभयो । चौलागाई गत चैत्र १० गते बाट गाउँपालिकामा हाजिर हुनुभएको हो । गाउँपालिका अध्यक्ष एक राज उप्रेतीले अहिले पालिकामा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरु तथा मा कर्मचारीको अभावका कारण काम अगाडि बढाउन नसकिएको तथा विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा विकास योजना अलपत्र अवस्थामा रहेका बताउनुभएको छ ।

  बागमती गाउँपालिकामा दरबन्दी ७५ काम गर्ने जना

जिल्लाको पुर्वि बागमति गाउँपालिकामा पनि समस्या त्यस्तै रहेको छ । गत चैत्र १२ गते देव अर्याल प्रमुख प्रशासकीयका रुपमा आएको भए पनि अन्य शाखामा कर्मचारी नरहेको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभएको छ । गाउँपालिकामा ७५ जनाको दरबन्दी रहेकोमा हाल ५÷७ जनामात्र कार्यरत रहेको उहाँले बताउनुभयो । कर्मचारी नहुँदा यो वर्ष पनि सोचे अनुसारको उपलब्धी हासिल गर्न नसकिने अध्यक्ष घलानले बताउनुभयो । कर्मचारी अभावमा सबै भन्दा बढी पुर्वाभार विकासका काममा प्रभाव परेको उहाँले बताउनुभयो । अवस्था यस्तै रहने हो भने संघीयतामा नै यसले ठुलो असर पु¥याउने उहाँको भनाई छ ।

 गढी गाउँपालिकामा ककर्मचारी अभाबले करारमा राख्नुपर्ने बाध्यता

मकवानपुरगढी गाउँपालिकामा पहिलेकै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ सहित अहिले गाउँपालिकामा २१ जना कार्यरत हुनु हुन्छ । जसमा स्थायी कर्मचारी १२ जना मात्र रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । गढी गाउँपालिकाले स्वीकृत गरेको दरबन्दी भने ४० जना रहेको छ । जसमा १२ स्थाई, ५ जना अस्थायी र बाँकी सबै करारका रहेको उहाँले बताउनुभयो । कर्मचारी समायोजनले सबै लथालिड्ड बनाएको उहाँले बताउनुभयो । कर्मचारी नहुँदा कुने काम अगाडी नबढेको र समस्या बिकराल बन्दै गएको उहाँको भनाई छ ।

 भिमफेदीमा दरबन्दी ४३ कार्यरत १६ जना

मकवानपुरको भीमफेदी गाउँपालिमा भने ४३ जनाको स्वीकृत दरबन्दीमा हाल १५÷१६ जना मात्र कर्मचारी रहेको प्रमुख प्रशासकिय अधिकृत जिबन कु“रबले बताउनुभयो । जीवन कुँबर पहिलेदेखि नै भीमफेदी गाउँपालिकामै रहेर काम गर्दै आउनुभएको छ । कर्मचारी समायोजनको असर सबै भन्दा बढी स्थानीय तहमा परेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । सरकारले यस बिषयमा बलैमा सचेत नभए परिणाम गम्भिर आउने उहाँको भनाई छ । कर्मचारी समायोजन गर्न सकरकारले अलि बढी नै हतार गरेको हो कि भन्ने उहाँको बुझाई रहेको छ । वडा कार्यालयहरुमा कर्मचारी अभावका कारण बढी समस्या भएको उहाँबताउनुहुन्छ ।

राक्सीराङ गाउँपालिकाको झनै ठुलो समस्या

जिल्लाकोे जिल्लाको विकट राक्सिराङ् गाउँपालिकामा पनि अवस्था उस्तै छ । स्वीकृत दरबन्दी ४२ जना रहेको गाउँपालिकामा हाल १३÷१४ जनामात्रै कार्यरत रहेको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी । ९ वटा वडा कार्यालय रहेको गाउँपालिकामा हाल २÷३ जना मात्रै कर्मचारी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । कर्मचारी समायोजनले गर्दा कर्मचारी कोहि पनि नभएको र आउनेक्रममा रहेको उहाँले बताउनुभयो । तर यस बिचमा अहिले कामको बढी चाप भएकाबेला कर्मचारी नहुदा समस्या भएको उहाँले बताउनुभयो । प्रशासकिय नफेरीएकाले थोरै मात्रामा काम अगाडी बढेको उहाँले बताउनुभयो ।

ईन्द्र सरोबर गाउँपालिकाको तीन वटा वडामा कर्मचारीनै छैनन्।

यता जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा पनि समस्या जस्ताको त्यस्तै छ । शाखाहरुमा कर्मचारी अभावका कारण काम गर्न समस्या रहेको गाउँपालिका अध्यक्ष जिवन लामाले बबताउनुभयो । ५ वटा वडा रहेको गाउँपालिकामा अहिले जम्मा ६ जना कर्मचारी मात्रै रहेको उहाँले बताउनुभयो । गाउँपालिकाको स्वीकृत दरबन्दी भने ३३ जना रहेकोमा हाल कार्यपालिकामा ४ जना तथा वडामा २ जनामात्रै कर्मचारी रहकेको बताउनुभयो ।

बकैयामा वटा वडामा कर्मचारीनै छैनन्

जिल्लाको पुर्वी वकैया गाउँपालिकामा पनि कर्मचारी समस्या रहेको प्रशासकीय अधिकृत खेमराज साप्कोटाले जानकारी दिनुभएको छ । गाउँपालिकाको १२ वडा मध्ये पहिले देखि नै ६ वटा वडामा कर्मचारी नभएको र अहिले समायोजनले गर्दा ४ वटा थप वडाका कर्मचारी अन्त जाने तयारीमा रहेको उहाँले बताउनुभयो । कार्यपालिकाले स्वीकृत गरेको पालिकाको दरबन्दीमा अहिले ५÷७ जना मात्रै कर्मचारी गाउँपालिकामरहेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि मकवानपुरका १० वटै स्थानीय तहका विकास निर्माणको काम प्रभावित भएका छन् ।

जिल्लाका स्थानीय तहहरुमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरुमा कर्मचारीको अभाव छ भने विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी नहु“दा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा रहेका छन । स्थानीय तहहरुमा कर्मचारी नहु“दा सोचे अनुरुपप काम गर्न नसकेको र दिन प्रतिदिन समस्या बढ्दै गएको जनप्रतिनिधिहरुको भनाई रहेको छ । सिंहदरबार दैलोमै आएको प्रचार व्यापक गरिएपनि कर्मचारीको अभावले जनतालाई आवश्यकता अनुसारको सेवा प्रदान गर्न नसकिएको नपाएको बताउन थालेका छन् । कर्मचारीको अभाबका कारण सानो कामका लागि पनि घण्टौं समय लाग्ने गरेको तथा निर्माण कार्यसंगै व्यक्तिगत घटना दर्ता जस्ता काम पनि सहजै हुने अवस्था नरहेको जन प्रतिनिधिको दुखेसो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*