बर्षाका कारण मकवानपुरका किसानहरु खुसी

जनपत्र
२३ चैत्र २०७५, शनिबार १०:५६

हेटौंडा / मकवानपुर जिल्ला सहित देशैभरका बिभीन्न जिल्लामा आज बिहानैबाट बर्षा भएकोे छ । बर्षातका कारण मकवानपुरका ग्रामिण क्षेत्रका किसानहरु खुसी भएका छन् । गाउँका पानी जलाग्ने बारीमा मकै छरिसकेका किशानलाई अहिले राहतको महसुस भएको छ भने मकै छर्न बाँकी किशानहरुलाई कामको चटारो बढेको छ ।

खेतबारीमा पानी नभएका कारण छरेको मकै र तरकारी समेत सुक्न थालेको समयमा पानी परेकाले राहत मिलेको किशानहरु बताउँछन् । खेत र बारीमा तरकारी र अन्न लगाएका किशानहरु पानी परेपछी खुसी भईरहेको समयमा हेटौंडाका वासिन्दाहरु घरबाट कमै मात्र बाहिर निस्कीएका छन् । काठमाण्डौको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबारदेखि नै वर्षा भइरहेको बताउँछन् ।

काठमाडौं उपत्यकामा शनिबार बिहान केहीबेर मेघ गर्जनसहित वर्षा भए पनि अहिले यहाँको आकाश बादलले धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको यो अवस्था दिउँसो केहीबेर सुध्रिएर घाम लाग्ने छ । तर, अन्य स्थानको मौसममा भने तत्काल सुधार आउने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले भने ।

मौसमविद्का अनुसार, सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने योग छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको मौसमविदहरुको भनाइ छ ।वर्षासँगै हावा र हुरीको सम्भावना पनि मौसम पूर्वानुमान महामशाखाले औंल्याएको छ । यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ को मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए ।
विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमाल बताउँछन् । तर, बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा भने छैन ।‘वायुका कारण देशका अधिकांश स्थानमा औसतभन्दा बढी नै हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् रिमालले भने, ‘तर, आत्तिनै पर्ने खालको हावाहुरी चल्ने खतरा भने छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*