बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको हाे : गगन थापा

जनपत्र
३० मंसिर २०७७, मंगलवार ०६:३५

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस सडकमा उत्रिएको बताउनुभएको छ । कांग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको बताउनुभयो । उहाँले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली कांग्रेस घर फिर्ता नहुनेसमेत बताउनुभयो ।

ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्यमन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताउनुभयो ।

नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताउनुभयो । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै नागरिकको पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खबरदारी गरिरहेको बताउनुभयो ।

धनगढी चौराहबाट र्‍यालीसहित सुरु भएको प्रदर्शन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुन कांग्रेस नेता तथा समर्थकहरू धनगढी पुगेका थिए । सभालाई केन्द्रीय सदस्य गगन थापा, पूर्वमन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्टले सम्बोधन गर्नुभएको थियो । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*