मकवानपुर सहितका जिल्लामा मौसम बदली, उज्यालो हुनुपर्ने बिहानीमा अँध्यारो

मकवानपुर सहित देशैभरको मौसम बदली भएको छ । एका बिहानै उज्यालो हुनुपर्ने मौसम अँध्यारो देखिएको छ । आज बिहानै हेटौंडामा सामान्य पानी छिट्याएपनि पानी भने पर्ने संभाबना धेरैनै बढेको छ । देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ ।
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । मौसमविद् बासीका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना छैन ।