नेपाल राष्ट्र बैँकद्वारा हाँडीखोलामा बित्तीय चेतना कार्यक्रम

मनहरी–नेपाल राष्ट्र बैँक बीरगञ्ज क्षेत्रीय कार्यालयले मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलामा शुक्रबार बित्तीय चेतना कार्यक्रम गरेको छ ।
बित्तीय चेतना कार्यक्रमको सहजीकरण गर्दै बैँकका निर्देशक राजन बिक्रम थापाले बित्तीय समस्या र बैँकहरुमा भइरहेका समस्याहरुका बारेमा उपभोक्ताहरुलाई सचेत पारेका थिए । उनले राष्ट्र बैँकले सबै बैँकहरुको छाताको रुपमा काम गर्ने बताउँदै राष्ट्र बैँकले निर्माण गरेको नीति र नियमहरुका आधारमा सबै बैँकहरुको नियमन हुने बताए ।
कार्यक्रममा राष्ट्र बैँकको काम कर्तब्य र उद्देश्यका बारेमा स्थानीय बिद्यार्थीहरु उमा बिडारी, अभिसेक अर्याल, महेन्द्रज्योति माध्यमिक विद्यालयका प्राचार्य गोकुलप्रसाद शर्मा, सञ्चारकर्मी शिवकुमार काशी लगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरुले बैँक ब्याज निरन्तर बढिरहेको, खाता बन्द हुनेगरेको लगायत बिषयहरुमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जबाफ बैँकका निर्देशक राजन बिक्रम थापाले दिएका थिए भने कार्यक्रम सञ्चालन तुल्सी बानियाँले गरेका थिए ।