अनौठो भूत मेला !

जनपत्र
१६ मंसिर २०७७, मंगलवार ०७:१९

‘दिनानाथ कि जय हो।’ भन्दै नदीमा डुबुल्की लगाउँदै थिए। देवीदेउताकोे नाम पुकार्दै उनीहरू नदीमा बर्बराउँदै थिए। सोमबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौंको भीड थियो। हातमा बेत ‘लठी’ बोकेका व्यक्ति ‘धामी’ इसारा देखाउँदै थिए। गेरुवा वस्त्रमा सजिएका महिला र पुरुष ‘भक्त’ हा, हु गर्दै थरथरर्र।।काँप्दै थिए। उनीहरूको जीउमा देवीदेवता चढेको हाक दिइरहेका थिए।

यो दृश्य हेर्न नदी कनारामा मानिसको घुइँचो लागेको थियो। प्रत्येक वर्ष नदीकिनारमा लाग्ने यस्तो भीड जनबोलीमा ‘भूत मेला’ भनिन्छ। नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकन र बेत लिएका थिए। गुरु ९धामी० इसारामा उनीहरू भूत खेलिरहेका भनिएको थियो। ढकनामा आगो राखेर बालिएको धुप बालिएको थियो। दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पसिएका थिए। यसरी नुहाएर तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ।

प्रत्येक वर्ष कात्तिक पूर्णिमामा सर्लाही, धनुषा, महोत्तरी, सप्तरीलगायत जिल्लाबाट हजारौं हजार मानिस आउँछन्। सूर्यको प्रकाश नदीको पानीमा परिसकेको थियो। एक–एक गरी भक्त गुरुको इसारामा नदीमा डुबुल्की लगाइरहेका थिए। आ–आफ्ना देवीदेउतासँग वचनबद्धता धामीमार्फत गरे। यस्ता थुप्रै दृश्य सोमबार बिहानैदेखि कमला नदीमा देखिन्थ्यो।

आआफ्नो घरको कुल देवीदेउता रिझाउन स्नान गर्न आएको उनीहरूले सुनाए। आइतबार रातिदेखि नै बस, ट्याक्टर, कार, जिप चढेर गाउँगाउँबाट नदीकिनार पुग्नेको लर्को देखिन्थे। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे धामीझाक्रीमार्फत कुलदेउताबाट तान्त्रिक विद्या सिद्ध हुने मान्यता छ। वर्षभरिमा जानअञ्जानमा भएको पापबाट नदीमा स्नान गरे पखालिने जनविश्वास छ।

सिरहको लहान नगरपालिका– २४ झुटकी गाउँका रामविलास महतोको पत्नीले दुई महिना अघि आफूलाई देउताले हैरान गरिरहेको बताएका थिए। उनलाई निको पार्न मोहनपुर गाउँबाट धामीलाई बोलाएका थिए। धामीले उल्टै वर्षौंदेखि पुँज्दै आएको कुलदेउता उखेलर फाले मात्रै निको हुने बताए। घरको मानिसले त्यही गरे। स्थानीयका अनुसार केहीछिनमै उनको घरको मानिस बौलाहाजस्तो गर्न थालेको थियो। फेरि अर्को धामी बोलाएर कुलदेउतालाई मनाउन लगायो। उनी पनि कमला नदीमा देउतासँग धामीमार्फत सतबैद ९बचनबद्धता० गराउन पुगेका थिए। उनीजस्तै यहाँका गाउँगाउँमा महिनौं पहिलेदेखि मानिसहरू आफूलाई देवीदेउता चढेको बताउँछन्। उनलाई सिद्ध गर्न धामी बोलाइन्छ। हरेक वर्ष यहाँ कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी देउता रिझाउन पूर्ण हुने गरेको जनविश्वास छ। स्नान गरेसँगै उदाउँदो सूर्यलाई साक्षी राखेर धामी र झाक्रीमार्फत कुलदेउताबाट सिद्धि प्राप्त गर्ने गरेको जानकार बताउँछन्।

‘समयसमयमा देउताले सवारी ‘पुजारी’ फेर्ने गर्छन्। नयाँ मान्छेको शरीरमा देउता आउँदा कमला नदीमा स्नान गराउन ल्याउनुपर्छ,’ सर्लाही मलंगवाका दयाराम पण्डितले भने, ‘६ महिनादेखि देवीदेउता चढेको व्यक्तिलाई लिएर कमला नदीमा यस वर्ष आएका छौँ। यहाँबाट गएपछि कहिल्यै हैरान नपार्ने विश्वास छ।’

घटस्थापनादेखि कात्तिक शुक्ल पूर्णिमापूर्व कैयौं पटकको बैठकीपछि सही ठम्याए भएर मात्र कमला स्नान गर्न आउने गरिएको उनले बताए। तान्त्रिक विधिअनुसार कुलदेउताबाट सिद्धि प्राप्त गर्दै कमला स्नान गरेपछि सोही व्यक्तिको जिउमा देउता आउने गरेको उनको दाबी छ। स्नान गरेका नयाँ भक्तले कमलाको जलले देउताको गहवर ९स्थान० लिप्ने प्रचलन रहेको धामी बताउँछन्।

घर परिवारका कुनै सदस्यलाई हानि नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ। सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*