मुख्यमन्त्रीको निर्देशनपछि घाईतेको उपचार गर्न स्वास्थ्यकर्मी सहित पुगे मन्त्री दुलाल

हेटौंडा / प्रदेश –३ का सामाजिक बिकाश मन्त्री युवराज दुलाल छिमेकी प्रदेश २ को बारामा हावाहुरीका कारण घाईते बनेकाहरुको उपचार गर्नका लागि नौं जना स्वास्थ्यकर्मीको टोली लिएर बारा पुगेका छन् । मन्त्री दुलालले बाराको कलैया अस्पतालमा प्रदेशका स्वास्थ्यकर्मीलाई लिएर गएका हुन् ।
हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले त्यहाँ उपचार सेवा दिएका छन् । हुरीमा परी घाइते भएकालाई भेटेर उनले स्वास्थ्यलाभको कामना गरे । हुरीमा परी घाइते भएकाको उपचारका लागि सहयोग गरिने मन्त्री दुलालले बताए । हुरीका कारण भत्किएका घर, गोठ, विद्यालय, सार्वजनिक संरचनाको स्थलगत अवलोकनपछि मन्त्री दुलाल कलैया अस्पताल पुगेका थिए ।
उक्त बस्तीमा हावाहुरीमा परी १५ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । बस्तीमा एकै घरका चार जनाको मृत्यु भएको पाइएको उनले बताए । ‘खानेकुरा र अन्नपात माटोमा मिसिएका देखिएका छन् । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ,’ स्वकीय सचिव पौडेलले बाराबाट भने–घर भत्किएपछि स्थानीयको रुवाबासी छ ।
रातभर खुला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् । जताततै त्राहि छ । आफ्नो परिवार सम्हाल्नै ठिक्क छ सबैलाई । ‘बासको टाटीमा गोबर र माटोले लिपेको घरहरु भत्किएका छन् ।
सिमेन्ट लगाइएका इ“टाको गाह्रो भएका घर पनि बा“की छैनन्,’ स्वकीय सचिव पौडेलले भने । स्थानीयले ३ हजार घरमध्ये ८० प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । हावाहुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन । तीव्रगतिमा आएको हुरीका कारण ढलेका बिजुलीका पोल, रुख र घरका पर्खालमा च्यापिएर घरभित्र बसेकाहरुको मृत्यु भएको थियो । हुरीबतासका कारण धेरै जना घाइते भएको अनुमान छ । मृत्यु हुने र घाइतेको संख्या बढ्नसक्ने अनुमान छ । राति करिब ९ बजेदेखि आधा घण्टा असिनापानीस“गै हुरीबतास आएको थियो ।
‘एक्कासि भुमरी चल्यो, घर भत्कियो’
बारा भरवलियाका श्रीराम साह आइतबार साँझ आफ्नै घरमा हुनुहुन्थ्यो । ७ बजेतिर एक्कासी हावाहुरी चल्यो । ‘केही सोच्न नभ्याउँदै हावाहुरीले घरको छानो भत्कायो, बल्लतल्ल भागेर ज्यान बचाएँ’ सोमबार बिहान भत्केको घर हेरिरहेका श्रीरामले भन्नुभयो ।
उहाँलाई सामान्य चोटपटक लागेको छ । त्यही गाउँका सिकन्दर खानको भने नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । उहाँको दाहिने खुट्टामा चोट लागेको छ । ‘एक्कासि ठूलो हावा चल्यो, घरको छाना उडायो, बल्लतल्ल केटाकेटीलाई जोगाएँ, मलाई चाहिँ चोट लागेको छ’ अस्पतालमा भेटिएका खानले भन्नुभयो । घाइतेहरुका अनुसार बेलुकी झण्डै ७ बजे एक्कासि भुमरी चलेजसरी हावाहुरी चलेको हो । झण्डै १० मिनेट चलेको हावाहुरीले केही घर भत्किएका छन् । सडकमा बिजुलीको पोल र रुख ढलेका छन् । बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसय भन्दा धेरै घाइते भएका छन् ।
बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले बढी क्षति पुगेको छ ।
तस्बिर सौजन्य–सामाजिक बिकाश मन्त्री युवराज दुलाल