कराँचीलाई पिएसएल उपाधि

जनपत्र
३ मंसिर २०७७, बुधबार ०५:५९

कराँची किंग्सले पाकिस्तान सुपर लिग ‘पिएसएल’ को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पिएसएल उपाधि जितेको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कराँचीले १८।४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । कराँचीलाई ऐतिहासिक उपाधि जिताउन ओपनर बाबर आजम ४९ बलमा ७ चौका सहित ६३ रनमा अविजित रहे । कप्तान इमाद वासिम ७ बलमा २ चौका सहित १० रनमा अविजित रहँदै उपाधि पक्का गरे । वासिमले शाहिन अफ्रिदीलाई चौका प्रहार गर्दै खेल सकाएका थिए ।

चाडविक वाल्टन २७ बलमा १ चौका सहित २२ रनको योगदान दिए । ओपनर शर्जिल खान १३ र एलेक्स हक्स ११ रनमा आउट भए । दिलबर हुसैनन्ले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । शाहिन अफ्रिदीले एक विकेट लिए । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ रोजेको कलन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । पहिलो विकेटका लागि कलन्दर्सका ओपनर फखर जमान र तमिम इकबाल १०।१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पहिलो बलमा उम्मेद आसिफले इफ्तिखर अहमदबाट इकबाललाई ३५ रनमा क्याच आउट गराए ।

इकबालले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चौथो बलमा जमान इफ्तिखरबाटै २७ रनमा क्याच आउट हुँदा कलन्दर्स समस्यामा परेको थियो । जमानले २४ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रर्दशन खराब हुँदा सस्तैमा समेटिन पुग्यो । इमाद वासिमले १२ औं पहिलो बलमा मोहम्मद हफिजलाई बाबर आजमबाट २ रनमा क्याच आउट गराए । १४ औं ओभरको तेस्रो बलमा स्मित पटेल ५ रनमा क्याच आउट हुँदा कलन्दर्स ८१–४ को अवस्थामा पुगेको थियो । अर्शद इकबालले बेन डंकलाई १६ औं ओभरको चौथो बलमा बाबरबाट ११ रनमा क्याच आउट गराए ।

१९ औं ओभरको पहिलो बलमा सोहिल अख्तर १४ रनमा शेर्फान रदरफोर्डबाट समातिन पुगे । डेभिड विसे १४ बलमा १ छक्का सहित १४ रनमा अविजित रहे । शाहिद अफ्रिदी ४ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे । कराँची किंग्सका उम्मेद आसिफले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अर्शद इकबालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । वकास मकसुदले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इमाद वासिमको नाममा एक विकेट रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*