अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?

जनपत्र
२३ कार्तिक २०७७, आईतवार ०७:३२

कमला ह्यारिस अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी छन्। ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन(अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्। उपराष्ट्रपति पदका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक पनि माइक पेन्सलाई नै अघि सारेका थिए भने पूर्वउपराष्ट्रपति जो बाइडनले भारतीय-जमैकन मूलकी कमला ह्यारिसलाई अघि सारेका थिए।

५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान् फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटमा निर्वाचित उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान् फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। यसअघि नै बाइडेनले उपराष्ट्रपति पदका लागि महिलालाई नै अघि सार्ने र त्यसका लागि उनलाई एक स्मार्ट, मेहनती र नेतृत्वका लागि तयार रहेको व्यक्तिको साथ आवश्यक भएको एक ट्वीटमार्फत् बताएका थिए। कोरोना महामारीले गर्दा अमेरिकाको स्थिति झन् खराब भइरहेको छ। कोरोना संक्रमणका कारण कयौं मानिसले ज्यान गुमाइसकेका छन्। लाखौं मानिसहरू बेरोजगार भइरहेका छन्। अर्थव्यवस्था पनि झन् झन् खस्कँदै गइरहेको छ।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास थिएन। सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाएको थियो भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिराल्डिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएको थियो। तर दुवैले चुनावमा हार व्यहोरेका थिए। अमेरिकी समाचार संस्था सान्फ्रान्सिस्कोक्रोनिकलमा प्रकाशित एक लेखमा कमला ह्यारिसले बाइडेनका तुलनामा अधिक उदारवादी कदम उठाएको बताइएको थियो। उनी आप्रवासी नागरिकका लागि हदैसम्म लचिलो हुने भन्दै उनका विपक्षीले प्रचार गरिरहेका छन्। उनी निजी स्वास्थ्य बिमा कार्यक्रम हटाउने पक्षमा छिन्।

उनले उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि शिक्षा, बन्दुक व्यवस्थापन ‘गन कन्ट्रोल’, गर्भपतन र अन्य विषयमा आधारित भएर निर्णय लिने जनाइएको छ। कमला भाषण गरेर अरूलाई आकर्षित गर्ने क्षमता राख्छिन्। कुनै समय थियो जब बाइडेनका दिन राम्रा चलिरहेका थिएनन्। तर गत फेब्रुअरी २९ मा बाइडेनलाई साउथ क्यारोलिनामा अफ्रिकी अमेरिकीहरूको भोटले ठूलो जित दिलाएको थियो। बाइडेनलाई एकपछि अर्को गर्दै अफ्रिकी-अमेरिकी समुदायको समर्थन मिल्दै गयो। एकै समुदायबाट बाइडनलाई यति धेरै समर्थन मिलेपछि त्यही समुदायबाट उपराष्ट्रतिको उम्मेदवार उठाउनुपर्ने चुनौती पनि थपिएको थियो। यसैबीच हाइ-प्रोफाइल अफ्रिकी-अमेरिकी नेता जेम्स क्लाइबर्नले एक अश्वेत महिलालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउनका लागि आग्रहसमेत गरेका थिए।

प्रहरीको हातबाट अफ्रिकी मूलका नागरिक जर्ज फ्लोयडको हत्या भएपछि बाइडेन र डेमोक्रेटिक पार्टीमाथि दबाब बढेको थियो। यही बेला ‘ब्ल्याक लाइभ्स म्याटर्स’ आन्दोलन नै चल्यो। प्रदर्शनकारीले अश्वेतहरूको न्यायका लागि आश्वासनभन्दा केही गरेर देखाउन माग गरे। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ। धेरै राज्यहरूमा उनीहरूको भोटले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

कमला ह्यारिस जो बाइडेनको अभियानमा कत्तिको प्रभाव छोड्न सक्नेछिन् भन्नेबारे त भविष्यले नै बताउला। अब सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा कमलाले उम्मेदवारी दिने बाटो अझ सशक्त हुने राजनीतिज्ञहरू बताउँछन्।

पछिल्लो समय ह्यारिसले रंगभेद, स्वस्थ्य र शिक्षाका विषयमा आवाज उठाउँदै आएकी छन्। अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले लिएको एक अन्तर्वार्तामा उनले आफूले समाजलाई पुनर्गठन गर्ने नभई अमेरिकी नागरिकविरूद्ध भएका अन्याय, अत्याचारका विरूद्धमा लाग्ने बताएकी थिइन्।

गत वर्षको राष्ट्रपतीय निर्वाचनमा उनले अर्थव्यवस्थाभन्दा पनि शोषणमा परेका महिला, अश्वेत भएकै कारण हेपिएका नागरिक र कम आर्थिक आय भएका नागरिकको विषयमा आफ्नो आवाज उठाउने बताएकी थिइन्। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*