अब स्वास्थ्य क्षेत्रमा सुधार आउँछ– मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा क्षेत्रमा मकवानपुर अग्रस्थानमा भएकाले अब स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताउनुभएको छ । स्वास्थ्यमा कमजोर भएकाले अब सुधार गर्दै लैजान प्रदेश सरकार लागिपरेको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम संगै हेटौंडा अस्पतालमा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिवठान बनाउन लागिपरेका छौ । त्यसको बिद्येयक आजै प्रदेश सभामा प्रस्तुत हुनेछ ।’
तीन नम्बर प्रदेशको सामाजिक बिकाश मन्त्रालयको आयोजनामा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले बिपन्न, शहिद परिवार अपाङ्गता भएका ब्यक्तिलाई सेवा दिनका लागि कार्यक्रम सुरु गरिएको बताउनुभयो । कुनैपनि रोग पत्ता लगाउनका लागि ढिलो भईसकेको हुनाले समयमानै रोगको परिक्षण गर्नका लागि उहाँले आग्रह समेत गर्नुभएको छ । यो बिल्कुल नयाँ कार्यक्रम भएकाले केही जिल्लामा मात्र परिक्षणको रुपमा काम गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । यो स्वास्थ्य परिक्षणमा सहभागि हुनका लागि सम्बन्धित वडा कार्यलयबाट सिफारिस हुनुपर्ने भएकाले वडाअध्यक्षहरुले दबाबमा भन्दा पनि यो कार्यक्रममा पर्ने ब्यक्तिलाई मात्र सिफारिस गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश सरकारलाई कहि कतै पनि भेटिएन भनेर प्रचार गर्नेहरुका लागि यो देखिने कार्यक्रम ल्याइएको बताउनुभयो । यो कार्यक्रम पाँच जिल्लामा लागू गरेर सुरुवात मात्र गर्न लागिएकोले आगामी दिनहरुमा बिस्तार गर्दै लगिने उहाँले बताउनुभयो । आफ्नै घरमा खाईने खानेकुराका कारण धेरैखालका रोग लाग्ने भएकाले समयमानै सजग हुनुपर्ने मन्त्री ढुंगलेलले बताउनुभयो । स्वस्थ जिवन डाक्टरले दिने नभईकन आफैले सुधार गर्नुपर्ने उहाँको भनाई छ ।