राष्ट्रपति भण्डारी र नेकपाका उपाध्यक्ष गौतमबीच भेटवार्ता, पार्टी एकता जोगाउने विषयमा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच नेकपाभित्रको आन्तरिक विवादबारे छलफल भएको छ ।
राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रपतिको कार्यालय शितल निवास बोलाएर नेकपाभित्रको विवादबारे चासो व्यक्त गर्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले नेकपाको एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल गर्नुभएपछि उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने प्रतिक्रिया दिनुभएको थियो । गौतम शितल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि उपाध्यक्ष गौतम सहभागी हुनुभएको थियो । पछिल्ला दिन नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आउनुभएको छ । यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।