आइपिएलका समुह चरणका खेल सकिए, प्लेअफको समिकरण पुरा

इण्डियन प्रिमियर लिग अन्तर्गत समुह चरणका खेलहरु सकिएका छन् । योसँगै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । गएराती सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको छ ।मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको हैदरावादले १७।१ ओभरमा बिना कुनै विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मुम्बईमाथि १० विकेटको जित हासिल गर्दै सनराइजर्स हैदरावाद तेस्रो हुदै प्लेअफमा पुगेको हो ।
समग्रमा समुह चरणमा मुम्बई इण्डियन्सले १४ खेलमा ९ जितका साथ पहिलो भयो भने दिल्ली क्यापिटल्स १४ खेलमा ८ जितका साथ १६ अंकसहित दोस्रो भएको छ । त्यस्तै सनराइजर्स हैदरावादको ७ जितपछि १४ अंकसहित तेस्रो र रोयल च्यालेन्जर्स बैंगलोरको ७ जितपछि १४ अंकसहित चौथो भएको छ ।
यो सँगै कोलकोता नाइटराइडर्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ । हैदरावादले मुम्बईसँग हारेको भए मात्र कोलकोताको प्लेअफ यात्रा सुनिस्चित हुने अवस्था रहेकोमा हैदरावादले जितेसँगै समाप्त भएको हो । कोलकोताको पनि ७ जितपछि १४ अंक रहेको थियो तर रनरेटका कारण कोलकोता प्लेअफ खेल्न सकेन । अब प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स विहिबार खेल्ने छन् । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
त्यस्तै इलिमिनेटर अन्तर्गत सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर शुक्रबार खेल्ने छन् । यस खेलको विजेता पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायर खेल आगामी आइतबार खेल्ने छन् । यस खेलमा पराजित टिमको आइपिएल यात्रा समाप्त हुने छ । आइपिएलको फाइनल खेल आगामी मंगलबार हुने छ ।