आइपिएलः बैंगलोरलाई हराएर प्ले अफमा स्थान पक्का गर्‍यो दिल्लीले

जनपत्र
१८ कार्तिक २०७७, मंगलवार ०६:२६

दिल्ली क्यापिटल्सले सोमबार आबुधाबीमा खेलिएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै प्ले अफमा आफ्नो स्थान पक्का गरेको छ । दिल्लीको टिमले अब ५ नोभेम्बरमा आफ्नो पहिलो क्वालिफायर खेल खेल्नेछ । जितका लागि बैंगलोरबाट पाएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ औं ओभरमा ४ विकेट गुमाएर हासिल गरेको थियो । दिल्लीका लागि शिखर धवनले ५४ र अजिंक्य रहाणेले ६० रन बनाए ।

पछिल्ला तीन खेलमा हार व्यहोरेको दिल्लीका ओपनर शिखर धवनले सोमबार राम्रो खेले । उनले पहिलो ओभरमा नै क्रिस मोरिसको बलमा दुई चक्का प्रहार गरे । दोस्रा ओपनर पृथ्वी शाँले दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा दुई चौका प्रहार गरेका थिए । तर, उनलाई सिराजले नै पाँचौ बलमा बोल्ड गरे । पृथ्वीले आजको खेलमा नौ रन बनाए । पहिलो विकेट गुम्दा दिल्लीको खातामा १९ रन थियो । तेस्रो नम्बरमा ब्याटिङ गनै आएका अजिंक्य रहाणेले आइपिएलमा पाँच खेल खेलेका थिए । तर, उनले यसअघिका खेलमा खासै राम्रो गर्न सकेका थिएनन् ।

आजको खेलमा शिखर धवनले १२ औंभरमा इसुरु उडानको बलमा चौका प्रहार गरेर आफ्नो अर्धशतक पूरा गरे । यसका लागि उनले ३७ बल सामना गरेका थिए । यही ओभरको अन्तिम बलमा पनि रहाणेले अर्को चौका प्रहार गरेका थिए । तर, शिखर धवनलाई शिवम दुबेको हातबाट क्याच गराए, शाहबाज अहमदले । यो बैंगलोरका लागि दोस्रो सफलता थियो । क्रिजमा राम्रो खेलेका रहाणे चाहिँ १५ औं ओभरमा शाहबाजको बलमा नै आफ्नो अर्धशतक प्रहार गरेर अगाडि बढेका थिए । १५ ओभर सकिँदा दिल्लीको स्कोर बन्यो– १ सय २१ रन ।

१८ औं ओभरमा वासिङ्टन सुन्दरले रहाणेलाई पेभेलियन फर्काइदिए । रहाणेले ६० रन बनाएका थिए । रहाणे आउट हुँदा नै दिल्लीको जित लगभग पक्का भएको थियो । ऋषभ पन्तले १९ औं ओभरको आखिरी बलमा चौका प्रहार गरे र दिल्लीको जित सुनिश्चित गरे ।

यसभन्दा पहिले बैंगलोरले पहिले ब्याटिङ गर्दा २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पडिक्कलले ५०, एबी डिभिलियर्सले ३५ र कप्तान विराट कोहलीले २९ रन बनाए । यो हार व्यहोरेको दिल्ली पनि अझै प्लेअफमा नै रहेको छ । यसपछि हुने मुम्बई र सनराइजर्सको खेलले उसको स्थान पक्का गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*