कस्मिरमा यसरी कारमै गोली हानेर आतंककारीले गरे भाजपाका ३ नेता/कार्यकर्ताको हत्या
दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी ‘भाजपा’ का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए। उनीसहित उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो।
एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन। फिदा हुसैन काजिगुन्ड बस्थे। हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए।
आतंकवादी एक गाडीमा आए र फिदालाई कारमै गोली हानेर भागे। सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएका छन्। द रजिस्टेन्स फ्रन्ट ९टीआरएफ० नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ। यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो।







