रोपवे धराप

जनपत्र
१२ चैत्र २०७५, मंगलवार १६:२१

हेटौंडा — बन्द अवस्थामा रहेको हेटौंडा–काठमाडौं रोपवेका तार र क्यारियरहरू गाउँलेको निम्ति धराप थापेको जस्तो भएको छ । कुनै पनि बेला तार चुडिएर बस्तीका बासिन्दाहरू घाइते हुन सक्छन् भने, अर्कोतिर क्यारियर खसेर मृत्यु नै हुन सक्ने जोखिम छ । १७ वर्षअघि बन्द भएको रोपवे तार नजिकैबाट विद्युत् प्राधिकरणका बिजुलीका तारहरू पनि तानिएका छन् । ‘हावाहुरीले दुवै तार एक स्थानमा ठोक्किएर करेन्ट सर्ट भई बस्ती नै ध्वस्त हुन सक्ने अवस्था छ,’ भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘संघीय सरकारले रोपवे तार, क्यारियरहरूको छिटै उचित व्यवस्थापन गर्न नसकेमा कुनै पनि बेला धनजनको क्षति हुन सक्छ ।’

उक्त रोपवेका तारहरू भीमफेदी गाउँपालिकाको धुर्सिङ, गोल्पिङ र गुन्डीङका बस्तीमाथिबाट गएका छन् । रोपवेका तार र क्यारियरहरू लत्रेर घरका छानाहरू छुन लागिसकेका छन् । रोपवेका स्टेसनहरू प्नि पुरानो भएर ढल्ने अवस्थामा पुगेका छन् ।

‘विद्युत् तारहरू रोपवेकै नजिकबाट तानिएका छन् । ‘समयमा नै रोपवेका तार र क्यारियरहरूको व्यवस्थापन गर्न नसकेमा गाउँमा दुर्घटना हुन सक्छ,’ वडाध्यक्ष सीताराम थापाले भने । गाउँलेहरूले रोपवेको तार र क्यारियरहरू हटाउन गाउँपालिकाका जनप्रतिनिधिहरूलाई दबाब दिइरहेका छन् ।

भीमफेदी गाउँपालिकाको बैठकले संघीय सरकार, प्रदेश सरकार र विद्युत् प्राधिकरणलाई बन्द भएर जीर्ण भएको रोपवेको छिटै नै उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ । चैत ५ गते गाउँपालिकाले उचित व्यवस्थापनका लागि पत्र लेखेको हो ।

रोपवेको तार र क्यारियर हेटौंडा भीमफेदी हुँदै काठमाडौं लगिएको छ । सरकारी उदासिनताका कारण लामो समयदेखि बन्द रहेको हेटौंडा–काठमाडौं रोपवेको करोडौं मूल्यको तार र मालसामान चोरी हुनुका साथै संरक्षणविहीन अवस्थामा रहेको छन् । भैंसे जुरीखेतसम्मको सानो र ठूलो गरेर करिब ६ हजार मिटर लामो रोपवेको तार चोरी भइसकेको छ ।

अमेरिकी सहयोगमा ५४ वर्षअघि स्थापना गरिएको रोपवे सरकारले २०५८ मंसिर ८ गते विघटन गर्ने निर्णय गरी कर्मचारीहरूलाई अवकाश दिएको थियो । बन्दको साथसाथै विघटनपछि बेवारिसे बनेको रोपवेको सम्पत्ति रेखदेख एवं सुरक्षा गर्न कर्मचारीको अभाव रहेको छ । हेटौंडामा रहेका रोपवेको जग्गामा अहिले विभिन्न सरकारी कार्यालय र सुमोकाउन्टर बसेका छन् ।

रोपवेको तार, क्यारियर लगायत अन्य सामग्रीहरूको सुरक्षा गर्न कर्मचारीको अभावले गर्दा रोपवेका तारहरू र अन्य सामान चोरी भइसकेका छन् । २०२१ सालदेखि सञ्चालनमा ल्याइएको उक्त रोपवेको प्रतिघण्टा २२ टन ढुवानी क्षमता छ । ४२.३ किलोमिटर लामो रोपवेलाई हेटौंडाबाट काठमाडौंसम्म पुग्न चार घण्टा १२ मिनेट लाग्ने गर्थ्यो ।
कान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*