१० खेलाडीमा सीमित बार्सिलोनाको प्रभावशाली जित
स्पेनिस ला लिगा फुटबलको दोस्रो खेलमा बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाले सेल्टा डी भिगोमाथि ३(० को जित दर्ता गरेको हो ।
आवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सेल्टा डी भिगोका लुकास ओलाजाले एक गोल उपहार दिए भने आन्शु फाती र सर्गेइ रोबर्टोले एक(एक गोल गरे । खेलको ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।
बार्सिलोनाका लागि पहिलो गोल खेलको ११ औँ मिनेटमा फातीले गरे । फिलिप कोन्टिन्होको पासमा पहिलो गोल भएको थियो । पहिलो हाफ १–० को अन्तरमा सकिएको खेलको ५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले बार्सिलोनालाई एक गोल उपहार दिए ।त्यसपछि संघर्षपूर्ण बनेको खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन् । इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाएका हुन् । यो जितसँगै बार्सिलोनाले लिगमा उत्कृष्ट सुरुवात गर्दै शुरुका दुवै खेलमा जित हासिल गरेको छ । बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ । बार्सिलोनाले अब आइतबार राति सेभियाविरुद्ध खेल्ने छ ।






