नेपालको क्षेत्रफल कति ? आधिकारिक घोषणा नहुँदै पुस्तक छापिएपछि विवाद

जनपत्र
३१ भाद्र २०७७, बुधबार ०६:४५

सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन । तर शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफल सहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ । यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलवार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सार्वजनिक गरेका हुन् । त्यसमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६४१।२८ वर्ग किलोमिटर रहेको उल्लेख छ ।

‘नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानीको बीचमा रहेको लिपु भन्ज्याङलाई समेटेर लिम्पियाधुरा–लिपुलेक क्षेत्रको करीब ४६०।२८ वर्ग किलोमिटर भूभाग समावेश नहुँदा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर मात्र हुन्छ,’ पुस्तकमा छ, ‘हाल नेपालको पूर्वपश्चिम लम्बाइ विशाल नेपालको १ हजार ४१५ किलोमिटरबाट घटेर करीब ८८५ किलोमिटर रहेको छ र उत्तर–दक्षिण चौडाइ १९३ किलोमिटर रहेको छ । कालापानी क्षेत्रको ८१।३२ वर्ग किलोमिटर र लिम्पियाधुरासम्मको करीब ४६०।२९ वर्ग किलोमिटर गरी जम्मा ५४१।६ अर्थात् करीब ५४२ वर्ग किलोमिटर क्षेत्र भारतद्वारा अतिक्रमित रहेको छ ।’

पुस्तकका लेखक कोमलचन्द्र बरालले नापी विभागद्वारा जारी आधिकारिक नक्साकै आधारमा क्षेत्रफल निकालिएको बताए । सीमा बचाऔं अभियानका सदस्य बराल, भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् केशवराज ढकालसहितको कार्यदलबाट र संयोजनमा केन्द्रका निर्देशक प्रेम भट्टराईले पुस्तक लेखेका हुन् ।

नक्सा प्रकाशन गर्ने आधिकारिक निकायले देशको कूल क्षेत्रफलजस्तो संवेदनशील विषयमा घोषणा नगर्दै पाठ्यपुस्तकमा राख्नु गलत भएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । ‘यो अनधिकृत कार्य हो,’ सचिव पाण्डेले भने, ‘सरकारी, गैरसरकारी वा कसैले पनि त्यसो गर्न पाउँदैन ।’ उनले नेपाल सरकारले आधिकारिक रूपमा क्षेत्रफल सार्वजनिक नगरेको बताए । क्षेत्रफल घोषणा गर्ने प्रक्रिया रहेको उनको भनाइ छ । ‘यो कूटनीतिक मामिलाको विषय हो । क्षेत्रफल घोषणा गर्ने प्रक्रिया हुन्छ,’ उनले भने । उनले मन्त्रालयको धारणा बुधवार सार्वजनिक गर्ने बताए ।

विभागका महानिर्देशक प्रकाश जोशीले पाठ्यक्रममा राखिएको क्षेत्रफल आधिकारिक नभएको बताए । अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित भएको देशको क्षेत्रफलका विषयमा यसरी घोषणा हुनु देशका लागि उपयुक्त नहुने उनको भनाइ छ ।‘अधिकार प्राप्त अधिकारीले निर्णय गर्ने हो,’ महानिर्देशक जोशीले भने, ‘त्यो पनि सत्य र तथ्यको आधारित हुनुपर्छ ।’ नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर निर्धारण पनि नापी र तथ्यांक विभागको औसतका आधारमा गरिएको थियो । यो क्षेत्रफलमा प्राविधिक सहमत थिएनन् । स्थानीय तहको क्षेत्रफल पनि मिलेको छैन ।

नापीका पूर्व उपमहानिर्देशक सुरेशमान श्रेष्ठले लिम्पियाधुरा सहितको अध्यावधिक नक्साका आधारमा कूल क्षेत्रफल १ लाख ४७ हजार ९५० वर्ग किलोमिटर हाराहारी हुन सक्ने बताउँदै आएका छन् । परराष्ट्र, संघीय मामिला र भूमि व्यवस्था मन्त्रालयको समन्वयमा मात्रै क्षेत्रफल सार्वजनिक गर्न सकिने नापी विभागले बताएको छ । क्षेत्रफल नक्सा जारी हुँदा नै तयार भए पनि कूटनीतिक विषय भएकाले सार्वजनिक नगरिएको नापी स्रोतले जनाएको छ । ‘क्षेत्रफल त आइहाल्छ,’ स्रोतले भन्यो, ‘तर देशलाई हित हुन्छ कि हुँदैन भनेर मात्रै अहिले सार्वजनिक नगरिएको हो ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*