मुस्लिम आयोगको अध्यक्षमा अन्सारीले लिए शपथ
काठमाडौं – मुस्लिम आयोगको अध्यक्षमा समिम मियाँ अन्सारीले शपथग्रहण गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिको अनुमोदनबिनै अध्यक्ष बनेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगको अध्यक्षमा बिहीबार अन्सारीलाई नियुक्त गरिन्। नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरीलाई संसदीय समितिले टुंगो लगाउन नसकी सिफारिसको ४५ दिन कटेकाले अन्सारी स्वतः नियुक्त भएका हुन्। संविधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाई समितिले स्वीकार वा अस्वीकारको निर्णय ४५ दिनभित्र दिनुपर्छ । संसदीय सुनुवाइ समितिले मियाको योग्यतामा गम्भीर प्रश्न उठाएर उनको नाम अनुमोदन गरेको थिएन । संसदीय समितिमा रहेको नागरिकताको प्रतिलिपिअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते हो तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अभिलेखमा भने उनको जन्ममिति २०३७ असोज २४ रहेको पाइएको थियो ।
अन्सारीको विषयमा सत्तारुढ नेकपाभित्रै विवाद भएको थियो। उक्त विवादले संसदीय समिति नै अनिर्णीत बनेको थियो। पाँचवटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधानबमोजिम नियुक्त गरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले सपथग्रहण गराएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी, मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त र थारू आयोगका विष्णुप्रसाद चौधरीले शपथ लिएका छन्।







