काँग्रेसमा बढ्दो किचलो : देउवाले नेताहरुको कुरा सुन्नै छोडेको आरोप (भिडियोसहित)

जनपत्र
२४ भाद्र २०७७, बुधबार ०६:४३

पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ ।

रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन् । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वाभाविक भएको दाबी गरेका छन् । नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरे । उनले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबैअंगहरुलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताए ।

सभापतिले सर्वसम्मत निर्णय गरौं भनेर दबाव दिए पनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए । उनले भने, ‘सर्वसम्मत निर्णय गरौं भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने । देउवाले प्रजातन्त्रको मर्ममाथि आक्रमण गर्यो भन्ने साथीहरुले आफ्नो पद, व्यक्तित्व र पृष्ठभूमिलाई गिज्याएको देखिन्छ । नेतृत्वमा पुग्ने लक्ष्य राखेका, गौरबशाली इतिहास भएका साथीहरुले यस्तो टिप्पणी नगरेको नै राम्रो हुन्छ । र सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरुलाई सहज रुपमा लिनुपर्छ ।’’

कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए । महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशिल सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए ।

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाइ छ । आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी कोइरालाले गरे ।

सभापति देउवा विधान विपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधान विपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनको विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्ने गरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो । वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँडने काम गरेको भन्दै विरोध जनाएका हुन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफूहरुले सशक्त दबाब दिदै जाने समेत बताए । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उनले बताए । विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गरे ।

यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् । तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रिएको नेता सिंहले बताएका हुन् । उनले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको बताए । केन्द्रबिन्दुबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*