बिग ब्यासमा सन्दीपको टोली परिवर्तन हुनसक्ने

जनपत्र
२३ भाद्र २०७७, मंगलवार ०६:१९

अष्ट्रेलियाको आधिकारिक टि २० फ्रेन्चाइज लिग बिग ब्यास लिगको दशौं संस्करणमा नेपाली स्पिनर सन्दीप लामिछानेको टोली परिवर्तन हुने सम्भावना रहेको छ । अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन भने आफ्नो सम्झौता नविकरण गरेका छैनन् । बिग ब्यासले अघिल्लो साता नयाँ अनुबन्धका लागि आव्हान गरेसँगै टोलीहरुले खेलाडीसँग छलफल थालिसकेका छन् । मेलबर्न स्टार्सले भने सन्दीपसँग सम्झौता नविकरण हालसम्म पूरा नभएको कारण उनको नाम टोलीमा समावेश गरेको छैन ।

मेलबर्नले अघिल्लो सिजन खेलेका कुनैपनि विदेशी खेलाडीसँग सम्झौता नविकरण गरेको छैन । सन्दीपसँगै दक्षिण अफ्रीकाका डेल स्टेन, पाकिस्तानका हारिस रौफ र दिलबर हुसेन तथा इंग्ल्यान्डका प्याट ब्राउनले स्टार्सका लागि खेलेका थिए । स्टार्स फाइनलमा सिड्नी सिक्सर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यता सन्दीपलाई अन्य टोलीले पनि अनुबन्धनका लागि सम्पर्क गरेका कारण निर्णय लिन नसकेको बुझिएको छ । अघिल्लो दुई संस्करणमा स्टार्सको जर्सीमा देखिएका उनी फेरी पनि त्यसै टोलीमा रहने सम्भावना पनि छ । हाल केहि टोलीसँग छलफलमै रहेकाले निर्णय लिन केहि समय लाग्ने सन्दीपनिकट स्रोतले जनाएको छ ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग ‘सिपिएल’ मा जमैका तलावाजका लागि खेलिरहेका छन् । उनी त्यसपछि इन्डियन प्रिमियर लिग ‘आइपिएल’ खेल्न यूएई प्रस्थान गर्नेछन् । दिल्ली क्यापिटल्ससँग सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीपले सिपिएल सकिएलगत्तै त्यसतर्फ प्रस्थान गर्नेछन् । अर्कोतर्फ नेपालको अन्तर्राष्ट्रिय खेल कम्तिमा २०२१ जनवरीसम्मका लागि स्थगित गरिएको छ । आइपिएलको पूरा समय टोलीसँग रहने सन्दीपले त्यसपछि बिग ब्यासमा जाने सम्भावना छ । यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि ६ फेब्रुअरी २०२१ सम्म हुने तालिका रहेको छ ।

नेपालको अन्तर्राष्ट्रिय खेल जनवरी २०२१ मा हुने सम्भावना रहेकाले पनि बिग ब्यासमा सन्दीपले पूरा समय खेल्न नपाउने हुन सक्छ । अघिल्लो सिजन स्टार्सका लागि लिग चरणमा पूरा खेलेका सन्दीप प्लेअफ र फाइनलमा भने उपस्थित हुन सकेका थिएनन् । सन्दीपले १३ खेलमा १५ विकेट हात पारेका थिए । त्यसअघि पहिलो सिजन सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए ।

अर्कोतर्फ बिग ब्यासमा दुई विदेशी खेलाडीको कोटा परिवर्तन गरेर तीनसम पुर्याउने सम्भावना रहेको छ । यसो हुँदा सन्दीपको अनुबन्धको सम्भावना बलियो छ । तर कोरोना भाइरसका कारण स्थिति कस्तो हुने अन्यौलता रहँदा केहि भन्ने अवस्था छैन ।

मेलबर्न मात्र नभएर अन्य सहभागी टोली विदेशी खेलाडी अनुबन्धन गर्न हतारिएका छैनन् । हालसम्म ब्रिसबेन हिटले इंग्ल्यान्डका टम ब्यान्टन र सिड्नी सिक्सर्सले इंग्ल्यान्डकै टम करनलाई टोलीमा समेटेको छ । राशिद खान, हरिस राउफ, लियाम लिभिंगस्टोन र एबी डे भिलियर्सले पनि पुरानै टोलीसँग सम्झौता गर्न सक्ने क्रिकेट डट कम डट एयुले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*